Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा औद्योगिक व्यापार मेलाः तरकारी काट्ने, स्वास्थ्यसम्बन्धी मेसिनदेखि जर्मन प्रविधिका सामग्री, थोपा सिंचाईमा उपभोक्ताको चासो

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७६, बिहिबार
धरानमा औद्योगिक व्यापार मेलाः तरकारी काट्ने, स्वास्थ्यसम्बन्धी मेसिनदेखि जर्मन प्रविधिका सामग्री, थोपा सिंचाईमा उपभोक्ताको चासो

धरानः धरानमा जारी औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलामा विभिन्न ब्राण्डका सामान खोज्ने उपभोक्ता बढेका छन् ।
फागुन २४ गतेसम्म चल्ने औद्योगिक मेलाको स्टलमा रहेको विभिन्न सामानमध्ये सेन्चुरी मसला, थोपा सिंचाई, इँटा ब्लक, तरकारी काट्ने मेसिन, स्वास्थ्यका लागि चाहिने मेसिन उपभोक्ताले रुचाएका छन् ।
८६ वटा स्टलमध्ये बैङ्क तथा वित्तीय संस्थाका २ वटा, होटलका ५ वटा, ढाका अल्लो, ह्याण्डिक्राफ्ट ८ वटा, नर्सरी २ वटा, मह ४ वटा, गार्मेन्ट ५ वटा, अर्गानिक अचार, चिया, ललिपप गरी ९ वटा, अन्तर्राष्ट्रिय उत्पादन (भारत, पाकिस्तान, बङ्गलादेश) १४ वटा, पुस्तक तथा स्टेशनरी २ वटा, थोपा सिंचाइ एक वटा, स्थानीय भवन निर्माण एक वटा, भवन निर्माण कम्पनी (आरएमसी) एक वटा, अटोमोबाइल्सका २ वटा, आइसक्रिम २ वटा, बराह ग्रुप ६ वटा, बिस्कुट एक वटा, चाउचाउ २ वटा स्टल छन् ।
त्यसमध्ये इटहरीका लाकेन्द्र थापाले राखेको शितल थोपा सिंचाईमा पनि उपभोक्ताले चासो लिएका छन् । ‘हालसम्म ३–४ जनाले लिइसक्नु भएको छ’, उनले भने, ‘यसले आत्मनिर्भर बनाउनुका साथै विषादीरहित तरकारी खान प्रोत्साहित गर्छ ।’ उनले धरानेले चाहने हो भने युवालाई बेरोजगार रहन नदिने बताए । ‘विशेषतः युवापुस्ता विदेसिन्छन्, तर थोपा सिंचाईले तरकारी उब्जाउने हो भने पनि आत्मनिर्भर बन्न सकिन्छ ।’ उनले भने ।
उता झापा अर्जुनधारा घर भएका विन्कन्ड इण्डष्ट्रिजका महेश श्रेष्ठले इँटा, ब्लक टायल्सले नै सिमेन्टको आवश्यकता पूरा गर्ने, सिमन्टेको बचत गर्ने भन्दै जर्मन प्रविधिमा बनेका सामग्री प्रदर्शनीमा राखेका छन् । उनको सामग्रीले पनि बजार लिइरहेको उनी बताउँछन् । ‘हालसम्म ३० जनाले अर्डर गर्नु भएको छ, विजयपुर क्षेत्रमा जाने बाटो बनाउने र भानुचोकमा बाटो बनाउने सहमति समेत भएको छ’, उनले थपे, ‘व्यापार नभएको भने होइन, राम्रै छ ।’
यस्तै, दुगडले उत्पादन गरेको मसला, चिया, अचारदेखि अन्य सामग्री प्रदर्शनीमा राख्दै आएका देवेन्द्र ढुंगेलले भने, ‘हाम्रा उत्पादनमा पनि उपभोक्ताले चासोका साथ हेरेका छन्, साथै सामग्री पनि किन्दै आएका छन् ।’
यस्तै, तरकारी काट्ने, जुस पेल्ने, सरसफाइका सामग्रीमा पनि उपभोक्ताले चासो दिएका छन् । भारतदेखि आएका उनीहरूले विशेषतः तरकारी काट्ने मेसिन बढी बिक्री भएको खुलाए । ‘सस्तो दरमा तरकारी काट्नेदेखि अन्य सामग्री राखिएको छ, दैनिक उपभोक्ताको भीड नै हुन्छ, कतिले अवलोकन मात्रै गर्नुहुन्छ, कतिपयले किनेरै फर्किनुहुन्छ ।’ अरसद खान भन्छन् ।
मेला संयोजक शिवराज श्रेष्ठका अनुसार जुत्ता–चप्पलदेखि लिएर अन्य प्रकारका अटोबाइल्स, औद्योगिक सामग्री, हस्तकला उद्योगबाट उत्पादित सामग्री, गार्मेन्ट तथा छालाजन्य वस्तु, श्रृङ्गार सामग्री, कृषि उत्पादन, घरेलु वस्तुको लगायतका सामग्री सस्तो दररेटमा किन्न पाइनेछ ।
पर्यटन, कृषि, सूचना, प्रविधि, कला, संस्कृति, शिक्षा तथा औद्योगिक व्यापार प्रदर्शनीका लागि मेला आयोजना भएको प्रचारप्रसार संयोजक मानबहादुर विश्वकर्मा दियालीले बताए । मेलामा धरान नगरस्तरीय लोकभाकामा नृत्य प्रतियोगिता समेत आयोजना भएको छ । विजेताले प्रथमले नगद ५० हजार, दोस्रोले नगद २५ हजार ५ सय ५१ रुपैयाँ र तेस्रोले १० हजार ५ सय ५१ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । मेलामा दिउँसो ४ बजेसम्म प्रवेश निःशुल्क रहनेछ । दिउँसो ४ बजेपछि भने विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएकोले प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको मेलाका संयोजक श्रेष्ठले बताएका छन् । विद्यार्थीहरुको लागि भने प्रवेश शुल्क ३० रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति: फाल्गुन २२ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend