धरानः धरान-३ तुर्केस्थित सरस्वती बाल आश्रममा आश्रित २९ बालबालिकालाई धरानका महिला, युवतीले एकछाक मासुभात खान दिएका छन् ।
धरानमा नारी दिवसमा विविध कार्यक्रम हुने गरेका छन् । तर यसपटक कोरोना भाइरसका कारण नारी दिवसका दिन धरानमा हुने भनिएका विभिन्न कार्यक्रम रोकिएका नै छन् । नारी दिवसलाई फरक तरिकाले मनाऔं साथै फरक सन्देश दिन यस्तो कार्यक्रम आयोजना गरिएको वेमेन केयर ब्युटी पार्लरकी सञ्चालिका पुष्पा लिम्बूले जानकारी दिइन् । ‘सरसफाइ गर्ने कि भन्ने सोंच बनाएका थियौं तर यो भन्दा बालबालिकालाई खाना खुवाउँदा उपयुक्त हुन्छ भन्ने ठान्यौं’, उनले भनिन्, ‘अनाथ आश्रममा आश्रित बालबालिकालाई खाना खुवाउँदा मन आनन्दित भएको छ ।’
ब्युटीपार्लरमा सिटिइभीटीअन्तर्गतको ब्युटीपार्लर तालिम लिइरहेका युवती र सञ्चालिका आफैं पुगेर खाना बाँडेका थिए । उनीहरूले यसअघि केक काटेर नारी दिवस मनाएका थिए । आश्रममा अहिले २९ जना बेवारिसे, बाबुआमा नभएकालगायत बालबालिका आश्रित छन् । फोटोः हाम्रो कोशी आवाज डटकम
