धरानः धरान–१६ स्थित सियोन स्कुलका डाइरेक्टरले पत्रकार सम्मेलन गरेका छन् ।
स्कुलका प्रिन्सिपल सञ्जीव वान्तवा, शिक्षकहरूको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् । आइतबार धरानस्थित नेपाल पत्रकार महासङ्घको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले छात्राहरू शिक्षकबाट सुरक्षित रहेको जानकारी दिएका छन् । उनले यस विषयमा सुनियोजित, कपोलकल्पित र भ्रामक समाचार आएको बताएका छन् । ‘अहिले पनि छात्राहरू सुरक्षित छन्, असुरक्षित भएको भए छात्राका आफन्त, छात्रा स्वयंले ओकलिहाल्थे नि,’ उनले प्रश्न गरे, ‘उनीहरू चुपचाप नै छन् त ?’
उनले उनको भाइमाथि यस्तो आरोप लगाइएको र त्यो आरोपमा केही सत्यता नभएको दावी गरे । ‘आरोप लाग्यो मैले स्कुलबाट निकालें पनि तर सोधीखोजी गर्दा साथै बाबुआमाकै उपस्थितिमा होइन भनेपछि मैले उनलाई पुर्नबहाली गरेको थिएँ ।’
केहीदिनअघि सञ्चारमाध्यममा आएको समाचारप्रति आफूलाई विश्वास नलागेको र पत्रकार सम्मेलन गरेको उनले जानकारी दिएका छन् । केहीदिनअघि एक अनलाइन पत्रिकामा ‘सियोन स्कुलमा सुरक्षित छैनन् छात्राहरू, एसइईको तयारीमा रहेकी छात्रामाथि शिक्षकबाटै यौन दुरव्यवहार’ शीषर्कको समाचारको खण्डन गर्दै समाचारमा सत्यता नभएको दावी गरे ।
‘यसअघि पनि पुस १८, २२ गते र माघ ६ गते स्कुलका सम्पत्तिबारेमा गलत समाचार आइरहे, त्यतिबेला प्रेस काउन्सिल नेपालसम्म पुगेर काउन्सिलकै रोहवरमा बुँदागतरूपमा छलफल भएकै हो, छलफलपश्चात् कुनै कुनै सामग्रीमा स्पष्ट तथ्यगत आधार, सम्बन्धित पक्षको भनाइ समावेश हुन नसकेको र बीचमा विज्ञापनको प्रस्ताव भई निजी स्वार्थपूर्तिको भावमा सामग्री सम्प्रेषण भएजस्तो देखिएको र सोबाट आचारसंहिता प्रतिकुल क्रियाकलाप हुन गएको देखिएको र उजुरीकर्ताको विषयसँग सम्बन्धित रहेर सहमति भएकै थियो’, उनले विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘तर फेरि यस्तो समाचार आएपछि बाध्य भएर हामीले पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’
उनले काउन्सिलसँगको छलफलपश्चात भएको सहमतिको बुँदा २ मा समाचार सामग्री सन्तुलितरहित ढङ्गबाट पटक–पटक एउटै विषयमा आएको र बीचमा विज्ञापन प्रस्ताव गर्दा आचारसंहिता प्रतिकुल हुने किसिमबाट सामग्री सम्प्रेषण हुन गएको हुँदा उजुरीकर्ताको खण्डन प्रकाशन गर्नेसम्मको पनि सहमति भएको बताए । यस्तै, समाचारका सम्बन्धमा उजुरीकर्ताबाट प्राप्त बुँदागत खण्डन जस्ताको सभ्य, शिष्ट एवं सभ्य शैलीमा लेख्ने पनि सहमति भएको उनले जानकारी दिए ।
उनले छात्रा र शिक्षकमाथि लगाइएको आरोपको पुष्टि गर्न पनि चेतावनी दिए । उनले विज्ञापनका नाममा वार्गेनिङ गरेर १८ लाख रूपैयाँ मागेको र त्यसपछि यो समाचार आएको दावी गरे । उनले नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल र न्यायिक निकायबाट छानविन गरी सत्यतथ्य बाहिर ल्याउन र कारवाहीको लागि माग गरेका छन् ।
‘विद्यालयमा सबै आस्था र विश्वास राख्ने मानिसले सेवा लिन, दिन सक्छन् तर समाचारमा अपराधीकै रुपमा प्रस्तुत गरिनु र स्कुल नै सिध्याउँछु भनेर लाग्नु नै आपत्तिजनक छ,’ उनले भने, ‘गलत भए वा प्रमाणित हुने कुरा भए भइहाल्छ तर विद्यालय, अभिभावक, शिक्षक र सयौं विद्यार्थीको मान, इज्जत र प्रतिष्ठामा नै धक्का पुरयाउनु भएन भन्ने हाम्रो धारणा हो, गलत वा कारवाहीको भागिदार हुन तयार छौं, तर गलत समाचार प्रस्तुत गरेर स्कुल नै सिध्याउँछु, अहिले अध्ययनरत् बालबालिकाको भविष्य नै डामाडोल बनाउँछु भन्नु त भन्नु भएन नि ।’
उनले भवन आफ्नो नाममा नल्याइएको पनि बताए । ‘ऋण लिँदा हामीले भवन स्कुलको नाममा राखेर निकालेका हौं, ऋण लिँदा स्कुलको नाममा लिइएकोले यो झन्झट आइलागेको हो ।’ उनले भने ।