धरानः धरान–१० धर्मपथबाट एक युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
प्रहरीले ब्राउन सुगरसहित धरान–१० का २६ वर्षीय दीपेश सुब्बालाई समातेको हो । उनलाई धर्मपथबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको साथबाट ४ ग्राम ब्राउन सुगर र २० हजार रुपैयाँ पनि बरामद भएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
धर्मपथमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा उनलाई प्रहरीले चेकजाँच गर्दा गोजीमा प्लाष्टिकले पोको पारेर लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको डिएसपी न्यौपाने बताउँछन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता जबर्जस्ती बलात्कारको आरोपमा पक्राउ परेका युवामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘उनीमाथि म्याद थप गरेर मेडिकल टेष्टलगायतका कार्य भइरहेको छ’, डिएसपी न्यौपानेले भने ।
धरान–६ की १४ वर्षीया बालिकालाई स्थानीय ३८ वर्षीय सन्तोष कार्कीले स्कुटर सिकाइ दिने बहाना बनाइ पानबारीस्थित पञ्चकन्या सामुदायिक वनमा लगी जबर्जस्ती करणी गरेको पीडित परिवारले जनाएका छन् । जवरस्ती करणी गरेको भनी पीडितको संरक्षकले जाहेरी दरखास्त दिएका थिए । कार्कीलाई नियन्त्रणमा लिई जवरजस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।