धरानः धरानमा होलीको दिन पब्लिक हाइस्कुलको मैदानमा खुकुरी प्रहार गर्ने थप तीनजना पक्राउपछि सार्वजनिक भएका छन् ।
यसअघि छुरा प्रहार गरेको भन्ने समाचार सार्वजनिक भएको थियो । प्रहरीले खुकुरीसहित समातेपछि छुरा नभई खुकुरी प्रहार गरेको भन्ने खुलेको हो । थप पक्राउ पर्नेमा धरान–२ बस्ने वर्ष १९ को बरदान चौधरी, धरान–३ बस्ने वर्ष २० को लाप्साङ तामाङ, धरान–१२ बस्ने वर्ष २० को रोहन भन्ने रोमन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनीहरूसहित धरान–२ का प्रकाश तामाङको मुख्य संलग्नतामा समूहले पूर्व रिसइवी साँध्ने उद्देश्य राखी धरान–४ बस्ने वर्ष १८ को अनन्त राई र धरान–१५ बस्ने वर्ष १९ को पेम्बा तामाङलाई खुकुरीले प्रहार गरी घाइते बनाएका थिए ।
घाइते दुवैको बीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइतेमध्ये अनन्तको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।