धरानः अहिले पनि धरानेहरूको नियति नै बनेको छ खानेपानी समस्या । खानेपानी संस्थान र खानेपानी बोर्डको जुहारीले धरानमा खानेपानी ‘पर्खी बसें आउला पानी’ भन्ने अवस्था नै छ । अहिले पनि उपभोक्ता पानी पर्खेर बसिरहनुपर्ने अवस्था छ । एडिबी आएपछि पानीको समस्या समाधान होला भनेर सोंचमग्न जनता अहिले तिर्खै बस्नुपर्ने अवस्था ज्युँका त्युँ छ ।
सुख्खा मौसममा वर्षेनी खानेपानीको हाहाकार झेल्दै आएका धरानेले यसपटक पनि खानेपानीको समस्या झेले नै । यसपटक पनि यस्तो समस्याले गाँज्न थालिसकेको छ । अहिले पनि पानी पर्खेर बस्नेहरू धरानमा बढेका छन् । ‘पानी आउला भनी पर्खी बसें, थोपो पानी चुँदैन ।’ धरान–१२ चतरालाइनमा खानेपानी संस्थानले ल्याइदिएको पानी थाप्न लाइनमा बसेकी निर्मला अधिकारीले भनिन्, ‘बिहानभरी धारा रूँगेर बसियो तर पानी आएन खबर गरेपछि संस्थानले ल्याइदिएको पानीमा पनि लाइन नै बस्नुपर्ने बाध्यता बन्यो ।’
उता खानेपानी दीर्घकालीन व्यवस्थापन सङ्घर्ष समिति पनि पानीको सहज व्यवस्थापन होस् भन्दै लागिपरेको । यसअघि धरान–९ का वडाध्यक्ष रत्न कटुवालको टोलीले पनि पानी माग्दै आन्दोलन नै गरिसकेको छ ।
‘जनता हामी तिर्खै छौं, समयमा पानी दिने दायित्व कसको हो भन्ने भइसकेको छ’, धरान–१२ की सविता तामाङले थपिन्, ‘धरान खानेपानी बोर्ड र एडिबीबीचको द्वन्द्वले धरानमा धरानेले खानेपानी पिउन पाएका छैनन्, जहिल्यै हिउँदयाममा काकाकुल नै बस्नुपर्ने ?’
खानेपानी समस्या समाधान गर्नकै लागि भनेर करिब आठ वर्षदेखि एशियाली विकास बैंकको सहयोगमा खानेपानी परियोजना सञ्चालन भएपनि आयोजनाले सोचे अनुरुप काम गर्न सकेको छैन । त्यसले पनि धरानबासी अहिले पनि अलमलमै छन् ।
उता खानेपानी संस्थानका टयाङ्करका चालक लक्ष्मण क्षत्रीले फागुन महिनामात्रै २० टयाङकर बढी पानी वितरण गरिसकेको बताए । अहिले चैत् लागिसकेपछि दिनमै चार टयाङ्कर बढी पानी वितरण गरिँदै आएको उनले जानकारी दिए ।
धरान उपमहानगरपालिका भने खानेपानी संस्थानलाई बोर्डमा लैजाने र पानीको समस्या समाधान हुने भन्दै लागिपरेको छ । मेयर तिलक राईले खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताउँछन् । उनी बोर्डमा गइसकेपछि संस्थान र एडिबीको पानीले धरानमा केही भएपनि राहत पुग्ने बताउँछन् । धरानमा चार करोड लिटर बढी पानी आवश्यक पर्छ तर धरानमा हाल जनसंख्या बढिरहे पनि पानीको मात्रा धरानमा बढ्न नसक्नु नै सबैभन्दा ठूलो कारक तत्व हो र धराने जनता काकाकुल बनिरहनु परेको छ ।
