Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको खोलामा छिमेकी इटहरीको हेलचेक्रयाइँ र हेपाहा पाराको दोहन भन्दै धरानको ‘एक्सन’ (भिडियोसहित)

हाम्रो कोशी आवाज
चैत्र ६ २०७६, बिहिबार
धरानको खोलामा छिमेकी इटहरीको हेलचेक्रयाइँ र हेपाहा पाराको दोहन भन्दै धरानको ‘एक्सन’ (भिडियोसहित)

धरानः धरानको खोलामा इटहरीले दोहन गरेपछि धरान उपमहानगरपालिका ‘एक्सन’ मा उत्रिएको छ ।
धरानतर्फ रहेको सेहरा खोलामा अवैध उत्खनन गर्दै ठेकेदारले नदीजन्य सामग्री दोहन गर्दै लगेपछि उपमहानगरपालिकाको टिम एक्सनमा उत्रिएको हो । ‘आफ्नो टेङ्ग्राखोलाअन्तर्गत ३८ हजार घनमिटर बराबर नदीजन्य सामग्री निकाल्ने अनुमति पाएको रहेछ तर धरान उपमहानगरपालिका अन्तर्गत पर्ने सेहरा खोलाबाट २८ हजार घनमिटर बढीको नदीजन्य पदार्थ अवैध किसिमले निकालेको पायौं’, धरान उपमहानगरपालिकाका वातावरण निरीक्षक राजु चौहानले भने ।
धरानकी उपमेयर मञ्जु भण्डारी (सुवेदी), इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने, धरान वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरे, वातावरण निरीक्षक चौहानलगायत सञ्चारकर्मीको टोली सो स्थानमा निरीक्षण गर्न पुगेका थिए । उपमेयर भण्डारीले प्रशासनिक सीमाना कहाँ हो त्यहाँ मात्रै प्रयोग गर्न ठेकेदारलाई आग्रह समेत गरिन् । ‘उनीहरूलाई ठेक्का दिएको ठाउँमा सामग्री नै भेटिएन रे, कस्तो हाँसउठ्दो कुरो, नभेटिएपछि सीमाना मिचेर धरानतर्फ ढल्किनु त भएन नि, यो त छिमेकीको मिचाहा र हेपाहा प्रवृत्ति पो देखियो त ।’
ठेकेदार कम्पनी पाथीभरा कन्ट्रक्सनले धरानक्षेत्र मिचेर उत्खनन गरिरहेको पाएपछि बुधबार तीनवटा ट्रिपर र एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । वातावरण महाशाखा प्रमुख घिमिरेले बुधबार स्काभेटरको चाबी लिएर चाबी लिएर चालक बेपत्ता बनेपछि तीनवटा ढुंगा, गिटीसहितको तीनवटा टिपर र ट्याक्टर नियन्त्रणमा लिएको बताए ।
ठेकेदारका प्रतिनिधिले जीवन न्यौपानेले एक करोड ८० लाखमा ठेक्का लिएको र ठेक्काको म्याद वर्खा नआउन्जेलसम्मका लागि लिएको बताउँदै भने, ‘ठेक्काअनुसार हामीले पाएका हौं, अलि मिष्टेक्ली भएको देखियो, यता मिचिएको हो भन्ने पनि थाहा थिएन, एक्सन लिए सजाय भोग्न तयार छौं तर हामीले पनि ठेक्का सम्झौताअनुसार माल उठाउन पाउनुपर्छ नि, इटहरीले पनि तपाईहरूको अधिकार क्षेत्र यहाँ हो भन्ने तोकेर देखाइदिनुपर्छ नि ।’
उपमेयर भण्डारीले महिना दिनअघि नै इटहरी उपमहानगरपालिकालाई क्षेत्राधिकार मिचेको भन्दै जानकारी पत्र पनि दिइसकेको अवस्थामा उपमहानगरपालिकाले नै हेलचेक्रयाइ गरेको बताइन् । फोटो, भिडियोः लक्ष्मण थापा

प्रकाशित मिति: चैत्र ६ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend