धरानः कोरोना भाइरसको सन्त्रासले धरानमा पहाडी क्षेत्रमा चढ्ने यात्रु र धरानबाट बाहिरिनेको संख्या बढेको छ । गृहक्षेत्र तथा पुख्र्यौली घर फिर्नेको लर्को लागेको छ ।
काठमाडौं, पोखरा, पूर्वका विभिन्न सहरमा कार्यरत शिक्षक, कर्मचारी, विदेशबाट घर फिर्नेले शुक्रबारदेखि चाप बढेको पहाडी काउन्टरका श्याम कटुवाल बताउँछन् । ‘हिजोसम्म बस खाली खाली नै जाने गरेको थियो तर आजदेखि चाप बढेको छ, बिहान चार बजेदेखि कुनैपनि बस खाली गएकै छैनन् ।’ उनले भने ।
त्यस्तै रोजगारीका क्रममा काठमाडौं, पूर्व, पश्चिमका विभिन्न स्थानमा बस्ने अभिभावकहरूले पनि कोरोना त्रासले आफ्नो छोराछोरीलाई गाउँ पठाउन थालेका छन् । ‘अचानक स्कुल, कलेज बन्द भएर गाउँ फर्किएका हौं’, भानुचोकमा भेटिएकी धनकुटा सिधुवाकी विमला न्यौपानेले भनिन् ।
फर्किनेको संख्या बढेपछि बसपार्कमा केही भीड पनि देखिएको छ । ‘अहिले दशैं–तिहारमा जस्तै घर जाने यात्रुको संख्या अचानक बढेको छ’, काउन्टरका कटुवाल भन्छन् ।
बुधबार सरकारले कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रङ्गशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएको थियो । एक महिना स्कुल कलेज बन्द भएपछि अध्ययनका लागि सहर बस्ने विद्यार्थीहरू धमाधम घर फर्किएका हुन् । कतिपयले भानुचोकमा भीडभाड बढेपछि जोखिम निम्तिँदै गएकोमा चिन्ता समेत व्यक्त गरेका थिए ।
