Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान–१६ मा विदेशबाट फर्किएका १२ जना सम्पर्कमा, केही बीपी प्रतिष्ठान, केहीलाई होम क्वारेन्टाइनमै बस्न सुझाव

हाम्रो कोशी आवाज
चैत्र १२ २०७६, बुधबार
धरान–१६ मा विदेशबाट फर्किएका १२ जना सम्पर्कमा, केही बीपी प्रतिष्ठान, केहीलाई होम क्वारेन्टाइनमै बस्न सुझाव

धरानः विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप धरान–१६ ले अभियान चलाएको छ ।
धरान–१६ का वडाध्यक्ष, वडा सदस्य घरघरै पुगेर सचेतना अभियान सञ्चालन गरेको हो । विदेशबाट फर्किएकालाई घरमै पुगेर सम्झाउने कोसिस गरिएको वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । ‘यदि कोही विदेशबाट फर्किएका हुनुहुन्छ भने उनीहरूलाई घरमै पुगेर एकपटक चेकजाँच गर्ने अथवा होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिँदै आएका छौं ।’ उनले भने । सबैलाई रोगले समातेको भन्ने हुँदैन तर पनि सचेतना त अपनाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए ।
वडाका घररघरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरू होम क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए । उनले मंगलबार र बुधबारसम्ममा धरान–१६ मा १२ जना विदेशबाट फर्किएको जानकारी आएको र उनीहरूमध्ये केहीलाई बीपी प्रतिष्ठानको एम्बुलेन्स आएर लिएर गइसकेको पनि उनले बताए । ‘केहीलाई होम क्वारेन्टाइनमै बस्न भनेका छौं, केहीलाई बीपी प्रतिष्ठानमा चेकजाँचका लागि पठाइसकेका छौं ।’ उनले भने । १२ जनाकै स्वास्थ्य अवस्था अहिलेसम्म ठीक रहेको उनले जानकारी दिए ।
उनले विदेशबाट फर्किएका अन्य कोही भए जानकारी दिन वडाबासीलाई आग्रह समेत गरेका छन् । ‘यदि कोही विदेशबाट फर्केर आउनुभएको छ भने नलुकाउनुहोस्, होम क्वारेन्टाइनमै बसौं, अप्ठयारो परे हामीलाई सम्पर्क गरौं ।’ उनले भने ।
अहिले धरान उपमहानगरपालिकाले पनि सबै वडामा विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क संकलनमा जुटेको उनको भनाइ छ । ‘विदेशबाट फर्किनुभएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौं’, उनले भने, ‘उहाँहरुको इच्छा अनुसार होम क्वारेन्टाइनमा बस्न छाडेका छौं । बसे नबसेको नियमित अनुगमन गरिराखेका छौं ।’ भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न धरान उपमहानगरपालिकाले आग्रह गरेको छ । यसअघि फ्रान्सबाट आएकी कोरोना संक्रमितसँगै आएकामध्ये धरान–१६ का एकजना रहेको अफवाह फैलिएको थियो ।

प्रकाशित मिति: चैत्र १२ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend