धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २४ जना कोरोना भाइरस संक्रमितको अवस्था सामान्य रहेको छ । धरानका र झापाका कोरोना संक्रमितहरूको धरानमा उपचार भइरहेको छ ।
झापाको कचनकवलका कोरोना संक्रमण पुष्टि भएका २३ र धरानको १ जना गरी २४ जनाको नै अवस्था सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन् । उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आसोलेसनमा वार्डमा राखिएको छ ।
प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनीहरू सामान्य अवस्थामा छन् । हालसम्म उनीहरूलाई केही भएको छैन । खाना खान, हिँडडुल गर्न सक्ने सामान्य अवस्था छ । केही असजिलो महसुस भइहाल्यो भने उपचारमा खटिएका नर्स तथा चिकित्सक व्यक्तिगत सुरक्षा कवज (पीपीई) लगाएर पुगिहाल्छन् र परीक्षण शुरू गर्छन् । उनीहरूको स्वाब लिँदा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष भेट हुन्छ ।
‘अहिले राम्रोसँग बसिरहेका छन् । उनीहरूको स्वास्थ्यमा कुनै जटिल समस्या देखिएको छैन’, उनले भने, ‘संक्रमितलाई केही लक्षण र अरु कुनै समस्या देखिएको छैन ।’ आइसोलेसनमा सबै संक्रमितको परीक्षण गर्दा स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ । ‘केही लक्षण देखिएकै छैन, लक्षण देखिए अन्य पनि चेकजाँच हुने गर्छ, जस्तैः मधुमेह, उच्च रक्तचाप आदि तर त्यो पनि गर्नुपरेको छैन ।’ उनले थपे ।
‘सबै संक्रमितसँग कुरा गर्दा कुनै पनि लक्षण नदेखिएकोले उनीहरूलाई निरन्तर निगरानी गरिरहेका छौं’, उनले भने, ‘कुनै लक्षण देखिए त्यसअनुसार औषधिको प्रयोग हुन्छ । सात दिनमा पहिलो परीक्षण र १४ दिनपछि पुनःपरीक्षण हुनेछ ।’