धरानः संखुवासभाको चैनपुरबाट ६ दिन पैदल हिँडेर धरान आइपुगेका एक यात्रुको बास धरानको चिहानघारीमा बास परेको छ ।
संखुवासभा चैनपुरका उदयराज त्रितालको चिहानघारीमा अलपत्र अवस्थामा भेटिएको स्थानीयबासीले बताएका छन् । विगत पाँच दिनदेखि धरान–८ लांघाली सामुदायिक वन परिसरमा रहेको चिहानघारीमा बास परेको उनले बताए । चिहानघारी छेऊमा रहेको सानो टिनको टहरामा बसेको अवस्था शनिबारसम्म पाँचदिन भयो ।
धरान उपमहानगरपालिकाले लांघाली सामुदायिक वनमा पनि राख्न नमानेको र उद्दार गरेर गाउँ नै पठाउने तयारी भइरहेको धरान–संखुवासभा सरोकार समाजका अध्यक्ष मिङमा भोटेले जानकारी दिए । ‘धरान उपमहानगरपालिकालाई यहीको क्वारेन्टाइनमा राखौं भनेर हारगुहार ग¥यौं तर सुनुवाइ भएन । सुनुवाइ नभएपछि चैनपुर नै फर्काउने तयारीमा छौं, उनलाई यातायातको साधनको व्यवस्था गरेर पठाउँछौं, भोलिसम्म चिहानको बास हुँदैन ।’ उनले भने । समाजकी सल्लाहकार शिला बज्राचार्यका अनुसार भोलि १० बजेसम्म उनलाई चैनपुर फर्काइनेछ ।
यसअघि शनिबार होप धरानको टिम पुगेर टिसर्ट, सुत्ने म्याट, तन्ना, झुल, एक दर्जन बिस्कुट, दुई प्याकेट पाउरोटी, एक कार्टुन मिनरल वाटर, १० पिस माक्स उनलाई दिइसकेको होप धरानका निश्चल पलिखेले जानकारी दिए । यस्तै, होपले दिनहुँ शुद्ध शाकाहारी खाना पनि खुवाउँदै आएको उनले बताए ।
उनी खासमा विराटनगर हिँडेका थिए । इस्कोन मन्दिरमा बस्दै आएका उनी विराटनगरस्थित इस्कोन मन्दिर बन्द छ भन्ने कुरा धरान आइपुगेपछि मात्रै थाहा पाएको बताउँछन् । ‘यहाँ आएपछि हिँड्दै आउँदैछु भनेर जानकारी गराएँ तर त्यहाँका सम्बन्धित व्यक्तिले फोनमा बन्द छ धरान नै बस्नु भनेपछि धरानको इस्कोन मन्दिर पनि पुगें, त्यहाँ पनि बस्न दिएनन्’, त्रितालले गुनासो पोखे, ‘त्यसपछि लाघांलीकै क्वारेन्टाइनमा पनि पुगें, त्यहाँ पनि छिःछि, दुरदुर गरे अनि चिहानघारीको बास भयो ।’
केहीदिनअघिसम्म केही पनि खान नपाएको उनले गुनासो पोखे । ‘नजिकै घर भएका केहीले व्यक्तिले दया लागेर चिउरा–पानी ल्याइदिए,’ उनले थपे, ‘चिउरा र पानी मात्रै खाएर बसें ।’
