Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पुरानो र नयाँ बजारमा बाँदरको आक्रमण हुन थालेपछि बजारभरी आयो यस्तो सूचना !

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७७, सोमबार
धरानको पुरानो र नयाँ बजारमा बाँदरको आक्रमण हुन थालेपछि बजारभरी आयो यस्तो सूचना !

धरानः धरानमा लकडाउनका कारण पशुचौपाया भोकै पर्न थालेका छन् । भोकभोकै हुन थालेपछि अहिले बाँदर धरानका मुख्य बजार र पुरानो बजार क्षेत्रमा घरघरै प्रवेशसमेत गर्न थालेका छन् । घरघरै प्रवेश गरेर बाँदरले आतङ्क सिर्जना गर्दै टोक्ने, चिथोर्ने, सामान खोसेर खाने समेत गर्ने गरेपछि आजीत भएर सर्वसाधारणले प्रत्येक घर अगाडिजस्तो बाँदरले आक्रमण गरेको सूचना टाँस्न थालेका छन् ।
घरैपिच्छेजस्तो टाँसिएको सूचनामा भनिएको छ–बाँदरको आक्रमण बढेको कारण कृपया बाँदरलाई गहुँ तथा अन्य खानेकुरा नहाल्नुहोला । स्थानीयबासी गजानन्द अग्रवालले स्थानीय दुईजनालाई टोकेर घाइते समेत बनाएको बताए । स्थानीय सन्दीप अग्रवाल र अन्य एक व्यक्तिलाई बाँदरले टोकेर घाइते नै बनाएको उनले बताए ।
‘बाँदरले टोक्ने, चिथोर्ने साथै बाटो हिँड्ने बटुवा अर्थात् केही सामग्री किनेर फर्किएका विभिन्न व्यक्तिको सामग्री नै खोस्नेलगायतका हर्कत देखाउन थालेपछि सूचना टाँस्नु परेको हो ।’ उनले भने, ‘बाँदरले टोक्न नै थालेपछि अहिले धरान–१ र २ का बासिन्दा बढी त्रसित छन् ।’ धरान–१ का सञ्जय अटलले बाँदरको उपद्रो बढ्दै गएको बताए । ‘विशेषतः अहिले लकडाउन बाँदरले पनि केही खान पाएको छैन, खानकै लागि पनि बाँदर अलि आक्रामक भएको हुनसक्छ ।’ उनले भने ।
धरानका धार्मिक क्षेत्रमा रहेका बाँदरहरू आहाराका लागि त्यहाँ आउने मानिसहरूमा भर पर्थे । तर लकडाउन शुरू भएपछि त्यहाँ मानिसहरू जान लगभग बन्द भएको छ र बाँदरहरू भोकै पर्न थालेका छन् । धरानका दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा मन्दिरलगायत पनि अहिले लकडाउनको प्रभावमा छन् । यसअघि मन्दिरका भक्तजन साथै पुरानो र नयाँ बजारका स्थानीयबासीले दिएका खानेकुराले उनीहरू निर्भर थिए । भोकै सङ्घर्ष गर्दै हिँडेका बाँदर अहिले मानिसलाई आक्रमण नै गर्न थालेको स्थानीयबासीले बताएका छन् । ‘बाँदर बोल्न सक्दैनन् । यिनले अरू सामान्य समयमा घुम्न आएका मानिसले दिएर खान्थे । लकडाउनपछि यी भोकै छन् ।’ उनी भन्छन् ।
‘दिनभर यताउता डुलेर पेट भर्ने बाँदर अहिले पर्याप्त आहार नपाउँदा मान्छे देख्नासाथ आक्रमण गरुँलाझैैं मात्रै होइन घाइते समेत बनाउन थाले’, गजानन्द भन्छन् । बाँदरले घरमै पसेर सरसामान बिगार्ने, खानेकुरा खाने तथा बालबालिकालाई आक्रमण गर्न थालेको उनको भनाइ छ । ‘कसैले बजारको बाटोमा तरकारी वा अन्य सामान ल्याएको देख्यो कि बाँदर नडराइ झम्टिएर भोट मेटाउने अवस्था आयो ।’ उनले थपे, ‘कोरोनाभाइरसको संक्रमणबाट बच्न ‘लकडाउन’ भएपछि सहरको घर–घरमा पस्न थालेका हुन् ।’
स्थानीयबासीले बाँदरहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाउँछन् । ‘धरानमा मानिसका नजिकका मित्र मानिएका घरपालुवा पशु, मन्दिर परिसरमा रहेका कुुकुर, बाँदर तथा अन्य चौपाया भने लकडाउनको समयमा भोकभोकै रहेका छन्, यिनीहरूका लागि केही दिएर भएपनि सबैले सहयोग गर्नुपर्ने गजानन्द बताउँछन् । उनले बाँदरहरूले भोकले मान्छेमाथि नै आक्रमण गर्ने स्थिति आफूले देखेपनि हरेक दिन समय मिलाएर आफूले खानेकुरा बाटोमा छरिदिने गरेको उनले बताए । ‘सूचनाचाहिँ अलिक गलत भएजस्तो लाग्यो, बाँदरलाई खानेकुरा नै दिने हो तर अहिल टाढैबाट’, उनले थपे, ‘गहुँ तथा अन्य खानेकुरा टाढैबाट राखिदिए भइगयो नि ।’
अहिले खुल्ला जनावरको व्यवस्थापन गर्दै भोक मेटाउनेतर्फ विशेष ध्यान दिनुपर्ने अवस्था देखिएकोले स्थानीय निकायहरुले अब जनावरका विषयमा पनि सोच्ने बेला आएको उनी बताउँछन् । फोटो : हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: जेष्ठ १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend