धरानः धरानको मात्रै कुरा गर्ने हो भने लकडाउनमा पनि महिला घरको काम सकेपछि सामाजिक काममा व्यस्त छन् ।
लकडाउनमा महिलालाई भ्याइनभ्याइ छ । धरान–११ की शिव वान्तवा राई एक उदाहरण पात्र हुन् । उनले घरको काम भ्याएर पनि सामाजिक काममा होमिएकी छिन् । ‘पहिलादेखि मनैदेखि नै सेवा गर्ने सोच्थें, मैले अनाथ आश्रम, वृद्धवृद्धा, अपाङ्ग (फरक क्षमता भएका) लगायत धेरैलाई सहयोग गरिसकेको छु’, उनले भनिन्, ‘कसैलाई सहयोग माग्दै त कसैलाई आफूले सकेको पनि सहयोग गर्दै आएको छु, यसले मनमा आउँछ ।’ उनले भनिन् । उनले भर्खरै धरानको सडकमा बसेकाहरूलाई व्यवस्थापन गरिएको ठाउँ लाङ्घाली सामुदायिक वन परिसरमा रहेको क्वारेन्टाइनमा पुगेर सहयोग गरेकी छिन् । धरानको मुख्य चोक भानुचोक तथा सडकमै बसेर जिन्दगी बिताउनेहरूलाई कोरोना माहामारीबाट जोगाउन त्यहाँ राखिएको छ ।
उनले त्यहाँ रहेका सबैलाई सेलरोटी, आलुदम, चट्नी, फ्रुटीलगायतका सामग्री दिएकी छिन् । बाबुको वार्षिक पुण्यतिथिका अवसरमा उनले सेलरोटीलगायतका परिकार खुवाएकी हुन् । यी त उनले गरेका काम भए । यस्तै, मनकारी हातहरूलाई अघि बढाउँदै उनकै पहलमा धेरै काम भएका छन् । उनले नै सहयोगी दाता खोज्दै त्यहाँ सहयोग गर्दै आएकी छिन् ।
गत वैशाख २८ गते उनकै पहलमा गोर्खा बचत तथा ऋण सहकारी संस्था लि. ले दिएको २१ हजार रूपैयाँले सोही ठाउँमा मासुभात खुवाउनुका साथै २३ जनालाई महिलालाई म्याक्सी, दुईजना बालिकालाई वितरण गरिएको उनले जानकारी दिइन् ।
यस्तै, वैशाख २९ गते धरान–१९ निवासी प्रेमकला राईले ६ हजार दिएपछि बिहानको खाना खुवाएकी थिइन् भने काठमाण्डौं निवासी सत्यकला राई गुरुङको सौजन्य र उनकै पहलमा १५ हजार बराबरको १०० थान टावल वितरण गरिएको उनले बताइन् ।
यस्तै, धरान–१८ निवासी समाजसेवी हर्क साम्पाङले दिएको ६ हजार बढीले १०६ जनालाई बिहानको खाना वितरण गरिएको उनले बताइन् । जेठ गते २ र ७ गते धरान १० देउराली निवासी सुवास बर्देवा र साथीबाट उनकै पहलमा खाना खुवाइएको थियो । यस्तै, धरानकै प्रेमकला राईले खाना र अण्डा खुवाएकी थिइन् ।
रातदिन नभनी सेवा गर्ने महिला
धरानमा रातदिन नभनी सेवा गर्ने महिला पनि छन् । होप धरानमार्फत् अन्जना थापा नाम गरेकी महिला रातदिन नभनी सेवामा खटिरहेकी छिन् । ‘म त इटहरीदेखि आउँछु’, उनले भनिन्, ‘यहाँ क्वारेन्टाइनमा रहेकालाई सेवा गर्दै बित्छ ।’
धरानकै कमला राई, भावना राई पनि सामाजिक कार्यमै खटिँदै आएका छन् । भावनाले त्यहाँ रहेका सबैलाई केश काटिदिएको उनले बताइन् । धरानकै गीता कटुवाल पनि सामाजिक कार्यमा खटिने युवती हुन् । उनले पनि वृद्धवृद्धा, अनाथ, बालबालिकालाई सेवा गर्दै आएको बताइन् । ‘कोही पनि ब्यक्ति भोकै नबसुन भन्ने हाम्रो सानो प्रयास हो ।’ उनले भनिन्, ‘सामाजिक कार्यमा खटिँदा आनन्द आउँछ ।’ उनले तीन चार महिनाको एक बालकलाई दुध समेत लगेर पिलाएकी थिइन् । ‘त्यो सानो बालक आमाले केही क्षण छोडेपछि त्यहाँ लगेर जिम्मा लगायौं, त्यसपछि दुध पिलाएर फर्कियौं ।’
हाल सो स्थानमा ८६ जना बालक, वृद्धवृद्धा, फरक क्षमता भएका मानिसहरू रहेका छन् । धरान उपमहानगरपालिकाले सडकमा खाने र बस्नेलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगाउन त्यहाँ राखेपछि बिहानको खाजा बेलुकाको उपमहानगरपालिकाले व्यवस्थापन गर्दै आएको र बाँकी अन्य मनकारी हातहरूले सेवा गर्दै आएका छन् ।
शिव वान्तवा अन्त्यमा भन्छिन्– धरानको कुरा गर्ने हो भने अधिकांश पुरुष मस्त रहेको बेलामा महिलाहरूले ज्यानलाई जोखिममै पारेर भएपनि सामाजिक कार्यमा होमिएका छन्, यो अत्यन्तै तारिफयोग्य काम हो । उनले सो स्थानमा खटिने एकजना पुरुष निश्चल पलिखे मात्रै देखेको बताइन् । ‘उपमहानगरपालिकाबाट खट्ने हुन् वा अन्य सहयोग गर्नेमा पनि सबै महिला मात्रै छन् ।’
घरमा पनि महिला लखतरान
लकडाउनमा धेरै पुरुषले खाना पकाउँदै गरेको, महिलालाई सघाउँदै गरेको फोटो फेसबुक वा सामाजिक सन्जालमा मात्रै पोष्टयाउने गरेको महिला नै बताउँछन् । ‘पुरुषले सामाजिक सन्जालमा फोटो हालेर नाटक मात्रै गरेका हुन् भन्छु म त’, धरान–१६ की गृहिणी लिला श्रेष्ठ थप्छिन्, ‘मैले पकाएको पनि मिठो हुन्छ र ? तिमीले पकाएको कति मिठो हुन्छ भन्दै फुरक्याउने मात्रै गर्छन् । भान्सामा पटक्कै छिर्दैनन् ।
हुन पनि हो लकडाउनमा महिलामाथि भार थोपरिने गरेको अर्की महिला जानुका बुढाथोकी बताउँछिन् । ‘पाहुना पनि थपिएका छन्, पुरुषले सघाउने होइनन् ।’ उनले भनिन् ।


