धरानः धरानमा युवामाथि साङ्घातिक आक्रमण भएको भन्दै राष्ट्रिय युवा संघ नेपालले विज्ञप्ति जारी गर्दै कानुनी कारवाहीको माग गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालका राजेन्द्र राई र विजय तामाङले विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । वडाध्यक्षकै निर्देशनमा आक्रमण भएको संघले आरोप लगाएको छ । धरान–१५ बगरकोट पुलपारी भिन्टेज रिसोर्ट अगाडि धरान उपमहानगरपालिकाको गिटी, बालुवा निकासीको कर काट्ने क्रममा सुमन धामी र मन्दिप राईमाथि १२–१५ जनाको समूहले साङ्घातिक आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।
सुमनले घाइते बनेपछि प्रतिष्ठानमा उपचारका लागि पुगेको पनि बताए । ‘पुर्जी काट्ने क्रममा बसिरहेका थियौं, वडाध्यक्ष सन्तोष लिम्बूको निर्देशनमा युवाको समूह आएर हातपात गरे ।’ बीपी प्रतिष्ठानबाट उपचार गरेर फर्किएका युवा सुमनले भने ।
वडाध्यक्ष लिम्बूको सवारी साधनलाई पनि पैसा लिएको भन्दै आक्रमणपछि कुटपिट गरेको ती युवाले बताए । उनले वडाध्यक्षकै समूहले ५२ हजार तीन सय २० रूपैयाँ र पुर्जी पनि लिएर गएको उनीहरूले बताए । उनले यस विषयमा प्रहरीलाई पनि जानकारी दिँदै निवेदन समेत दिएको बताए । ‘चिकित्सकको रिपोर्टसहित प्रहरीमा निवेदन दिइसकेका छौं’, मन्दिपले भने ।
उता वडाध्यक्ष लिम्बूले भने आफूलाई केही थाहा नभएको बताए । ‘मंगलबार साँझचाहिँ मेरो घर घेर्न केही युवा आएकाचाहिँ थिए ।’ उनले भने । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले आक्रमण भएको भन्ने जानकारी आएको र अनुुसन्धान भइरहेको बताए ।
