धरानः अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा धरानमा स्वतःस्फुर्त प्रदर्शन भएको छ ।
दलित र गैर दलित सहभागी प्रदर्शनमा स्वतःस्फुर्तरूपमा जनमानस ओर्लिएको थियो । विभेदविरुद्ध धरानका दलित र गैर दलित पनि एक थिए ।
धरानका दलितहरूले बुधबार दिउँसो धरानको छाताचोकदेखि भानुचोकसम्म विरोध प्रदर्शनसहितको रयाली निकालेको हो । प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् । उनीहरूले निकालेको शान्तिपूर्ण रयालीमा सम्पूर्ण उत्पीडन वर्ग एक हौं, सम्पूर्ण दलित एक हौं, दलितलाई मार्न पाइँदैन, हत्यारालाई कारवाही गरलगायतका नारा लगाएका थिए ।
भानुचोकमा आयोजित कोणसभामा बोल्ने वक्ताले घटनामा सरकारले निष्पक्षरूपमा छानबिन गर्नुपर्ने र पीडितलाई न्याय दिलाउन माग गरे । कोणसभापछि उनीहरूले इलाका प्रशासन कार्यालय धरानमार्फत् ज्ञापनपत्र समेत बुझाएका छन् ।
गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो । प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग बिहे गर्न गएका बेला विकको हत्या भएको बताइएको छ । मंगलबारको संसद बैठकमा पनि सांसदहरूले घटनाबारे छानबिन गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेको छ ।
अन्य विभिन्न संघ–संस्थाहरूले पनि गम्भीर अमानवीय घटना भएको भन्दै दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
हाल घटनामा संलग्न रहेको आशंकामा १८ जना पक्राउ परेका छन् । त्यहाँका वडाध्यक्षसहित २० जना विरुद्ध किटानी जाहेरी परेको छ । वडाध्यक्षसहित १२ जना सोमबार पक्राउ परेका थिए भने थप ६ जनालाई बुधबार पक्राउ गरिएको हो ।
फरार दुई जनाको खोजी जारी रहेको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले बताए । जाजरकोट जिल्लाको भेरी नगरपालिकाका वडा नं. २१ वर्षीय मृतक नवराजको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन भनी त्यहाँ गएको समयमा शनिबार बेलुका सोतीका स्थानीयले लखेट्दै कुटपिट गरेर हत्या गरेको अभियोग लागेको छ ।
शनिबार सोती पुगेका युवकहरूलाई गाउँलेले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका मध्ये ४ जनाको शव फेला परिसकेको छ । अझैं दुई जना बेपत्ता छन् । जाजरकोटको भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको थियो । बेपत्ता रहेका भेरी नगरपालिकाका वडा नं. ४ का १७ वर्षीय गोविन्द शाही र ४ नम्वर वडाकै १८ वर्षीय सञ्जु विकको खोजी भइरहेको छ ।








