Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘लकडाउनको स्वरूप’ बारे छलफल शुरू

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७७, बिहिबार
धरानमा ‘लकडाउनको स्वरूप’ बारे छलफल शुरू

प्याराग्लाइडिङबाट देखिएको धरान–१३ र १६ का कोही भाग । फाइल तस्वीरः हाम्रो कोशी आवाज डटकम

धरानः धरानमा लकडाउनको स्वरूप परिवर्तनबारे पहिलोचरणमा छलफल चलेको छ ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा भएको छलफलमा अधिकांश व्यवसायी, पर्यटन व्यवसायी र होटल व्यवसायीले लकडाउनको स्वरूप बदल्न सुझाएका थिए ।
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले लकडाउनको स्वरूप बदल्न सकिने बताए । उनले धरानका सबैतिरका नाका सिल गर्दै लकडाउनको स्वरूप बदल्न सकिनेबारे उपमहानगरपालिकामा पनि छलफल चलिरहेको बताए । ‘पर्यटन व्यवसायी, व्यवसायीले मारमा परयौं भन्ने गुनासो दिनहुँ सुन्न थालिएको छ, सबै मिलेर सामाजिक दुरी कडाइका साथ कायम गर्दै सबै मिलेर अघि बढौं भनिसकेको छु र यसबारेमा उपमहानगरपालिकामा पनि दिनहुँजसो छलफल चलिरहेको हुन्छ ।’
उनले सहजताका लागि उद्योग, व्यापार, पसल, यातायातका साधन, कार्यालय, निर्माण आदिमा सुरक्षाका सबै उपाय अवलम्वन गरेर अघि बढ्ने तयारी भइरहेको सुनाए । दुरी कायम गर्न सकेमा कोरोना एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना एकदमै न्यून रहने बताउँदै उनले भने, ‘तर सबैले अन्तर्राष्ट्रिय नियमको फ्लो भने गर्नुपर्ने हुन्छ ।’ उनले धरानका क्षेत्रगत हिसाबले वर्गीकरण गर्दै अर्थात् कोरोनाको प्रभाव र जोखिमका क्षेत्र छुट्याइँदै अघि बढिने बताए ।
उनले धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूसँगको समन्वयमा धरानका चार हजारमा पिसिआर परीक्षणको तयारी भइरहेको पनि सुनाए । पिसिआर परीक्षणपछि सहजता हुने उनको भनाइ छ । ‘विशेषतः धरानमा चार हजारको पिसिआर परीक्षण गर्ने तयारीमा छौं, आजै (बिहीबार) बीपी प्रतिष्ठानका चिकित्सकले खाका तयार गरेर हामीलाई बुझाउनुहुन्छ, हामी सोही अनुसार अघि बढ्छौं ।’ उनले थपे ।
सुनसरी उद्योग वाणिज्य संघ धरानले उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व गर्दै लकडाउनले मारमा परेका उद्योगी तथा व्यवसायीहरूलाई कसरी उनीहरूको धरासायी भएको व्यापार व्यवसायलाई भरथेग गर्न सकिन्छ र श्रमजीवी वर्गको हित सोच्दै छलफल डाकेको अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिए । कार्यक्रममा उपमेयर मञ्जु भण्डारी, सुनसरी उवासंघका पदाधिकारीलगायत उद्योगी, व्यवसायी सहभागी थिए ।

प्रकाशित मिति: जेष्ठ १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend