Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लकडाउनले फेरिएको बालबालिका र विद्यार्थीको दैनिकी

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७७, शनिबार
धरानमा लकडाउनले फेरिएको बालबालिका र विद्यार्थीको दैनिकी

धरानः विद्यालय धाउनु पर्ने छैन, होमवर्क गर्नुपर्ने छैन, असाइनमेन्ट पूरा गर्नु छैन, परीक्षाको तयारी गर्नु पनि छैन । घुमफिर गर्न, साथीसंगीसँग खेल्न, आफन्तकहाँ जान, किनमेल गर्नु पनि छैन । दिनभर के गर्दैछन् त हाम्रा बालबालिका र विद्यार्थी, हामीले सोधेका थियौं–
कोरोना भाइरस (कोभिड–१९) का कारण पूरै देश लकडाउन गरिएको छ । शुरूमा एक हप्ता गरिएको लकडाउन २० गतेसम्म थपिएको छ । धरानमा लकडाउनले बालबालिकाको दैनिकी फेरिएको छ ।
धरान–१६ का सविना श्रेष्ठ कक्षा–७ मा पढ्छिन् । शुरूका हप्ता लकडाउन हुँदा उनले चित्र कोरेर समय बिताइन् । ‘शुरूमा चित्र कोरेर समय बिताएँ, पछि ममीले युट्युब खोलिदिएपछि अहिले युट्युबमा राम्रा र ज्ञानगुनका कुरा हेरेर बिताउँछु ।’
धरान–१६ कै प्रेक्षा राई घरमै कोरोनाको सावधानी अपनाउँदै आमाबाबुसँग फूलमा पानी हाल्ने, आमालाई घरभित्रको काममा सघाउने साथै युट्युबमा राम्रा फिल्म, ज्ञानगुनका कुरा सुन्दै, हेर्दै आएको बताउँछिन् । धरान–१९ का अन्जना राई इन्डोर गेम खेलेर रमाउने गरेको बताउँछिन् । उनले घरमै बाबाले किनिदिएको लुँडो पनि खेल्दै आएको बताइन् । ‘हात धुन्छु, खाना खान्छु, मास्क लगाएर छिमेकी साथीलाई डाकेर लुँडो पनि खेलिरहेको हुन्छु ।’ उनले भनिन् ।
लकडाउनमा रोकिएकी झापा घर भएकी (हाल धरान–६ पानबारी) मा बस्दै आएकी दिया विष्ट टिकटकमा नृत्य गरेको भिडियो हाल्दै, साथीहरू र दिदीहरूसँग रमाउँदै बस्दै गरेको बताउँछिन् । ‘दिदीहरू नृत्यमा खप्पिस हुनुहुन्छ, उहाँहरूको सहारामा नृत्य सिक्दै, सिकेका कुरा टिकटकमा हाल्दै आफ्नो प्रतिभा प्रदर्शन गरिरहेको छु ।’ उनले भेटमा भनिन् ।
धरानका सन्तोष लिम्बूले फेसबुकमा पोट्याए–नयाँ पुस्तालाई काम सिकाइँदैछ है तपाई नि ? उनको पोष्टमा अगेन्द्र लिम्बूले कमेन्ट गरे–नानीमै बानी गराउने हो राम्रो हो ।
धरान–६ की विद्यार्थी प्राश्ना खनाल दिनहुँजसो आमालाई खानेकुरा बनाउन सघाउँदै, नृत्य गर्दै अतिरिक्त क्रियाकलापलाई ध्यान दिँदै आएको बताउँछिन् । धरान–८ का नविन राई घरभित्र हुँदा आमालाई सघाउने गर्छन् । घरमा बाहिर बाबुलाई फूलबारी स्याहार्ने गर्छु, घर बाहिर निस्किन्नँ । कोरोना भाइरसबाट बच्न साबुन पानीले राम्रोसँग हात धुन्छु ।
धरान–१ की प्रेक्षा अग्रवाल घरमै छिन् । कोरोना भाइरसले गर्दा बाहिर निस्किन हुँदैन भनेर घरमै रहेको बताउँदै उनले भनिन्, ‘बाहिर गएर हुन्न नि, कोरोना सर्छ, घरभित्रै बस्छु, बाबुआमालाई सक्ने कार्यमा सघाउँछु ।’
धरान–१५ की अभिभावक सम्झना लिम्बू छोराछोरीलाई घर बाहिर नजान सुझाएको बताउँछिन् । ‘जानु हुँदैन, कोरोना सर्छ भनेपछि अहिलेसम्म बाहिर निस्केका छैनन्’, उनले भनिन्, ‘घरकै काम सघाउँछन्, युट्युब र टिभीमा मनोरञ्जनात्मक कार्यक्रम, हँसाउने कार्यक्रम हेर्ने गर्दछन् ।’
मनोविद् पुष्पराज भट्टराई भन्छन्–यस्तोबेलामा मिडियाको भूमिका महत्वपूर्ण हुन्छ । बारम्बार त्यस्ता घटना हेर्ने र सुन्ने गर्नाले मनस्थिति त्यस्तै हुन्छ भन्ने कुरा जानकारी गराउनुपर्छ भने विपद्को बेलाका घटनालाई जबरजस्ती उनीहरुलाई अनुभव सुनाउन कर गर्नुहुँदैन । नितान्त व्यक्तिगत कुराहरु कोट्याउने गर्नुहँुदैन । सल्लाह सुझाव नदिने, उनीहरुको व्यवहारको टिकाटिप्पणी गर्ने, राहत तथा सहयोगका बारेमा नकारात्मक टिकाटिप्पणी गर्ने, आफूले गर्न नसक्ने आश्वासन दिने र उनीहरुका विचार तथा अनुभवलाई अपमान गर्ने काम कुनै पनि हालतमा गर्नुहुदैन भन्ने कुरामा सधैं सचेत हुनुपर्छ ।
उनले बालबालिकालाई घरमै बसेर निम्न क्रियाकलापहरु गर्न लगाउने र उनीहरुको अनुभव बताउन लगाउने गर्न सकिन्छ । जस्तैः घरमा रहेका चौपायालाई धेरै माया गर्ने, गमलामा पानी हाल्ने, आफ्ना हजुरबा–हजुरआमालाई सहयोग गर्ने, बाटो छेउमा मागेर बसेकालाई इच्छाअनुसार सहयोग गर्ने , आफ्नो साथीलाई मद्दत गर्ने, रेडियो टेलिभिजनका समाचार हर्ने, सुन्ने गर्ने, आफ्नी आमालाई घरको काममा मद्दत गर्ने, चराचुरुङ्गंीलाई चारो दिनेजस्ता क्रियाकलाप गर्न सकिन्छ ।

प्रकाशित मिति: जेष्ठ १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend