धरानः धरानमा केही पसलहरू खुल्न थालेका छन् । विशेषतः फेन्सी आइटमका कपडा पसल, इलेक्ट्रोनिक्स, पुस्तक, तरकारी, खाद्यान्नलगायतका पसल बिहीबारदेखि खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिँदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरूले पसल खोल्न थालेका हुन् ।
सामाजिक दूरी कायम गर्दै बिहान ८ बजे देखि १२ बजेसम्म पसल सञ्चालन गरिएको व्यवसायीले बताएका छन् । भानुचोक आसपास, भानुचोकको घण्टाघर पछाडि रहेका जुत्ता–चप्पल सिउनेहरूले पनि पसल खोलेका छन् ।
व्यवसायीले सरकारले तोकेको मापदण्डअनुसार सुरक्षा सतर्कता अपनाइएको बताएका छन् । धरानका मुख्य बजार, पुतलीलाइन, सब्जीमण्डी, कलेज रोड, रत्नरोड, पुरानो बजारलगायतका स्थानमा पसल सञ्चालनमा आएका हुन् । कतिपय पसलमा हात समेत नधोइ पसलमा ग्राहक छिरेको पनि पाइयो । बजारमा टेम्पो व्यवसायीले पनि टेम्पो कुदाउन थालेको दृश्य देखिन्थ्यो ।
सरकारले लकडाउनको मोडालिटी फेर्ने तयारी गरिरहेको बताइरहेकै बेला व्यापारीहरू भने अब धैर्य गर्नै नसकिने अडानका साथ लकडाउन उलंघन गर्दै व्यापार व्यवसाय सुचारु गर्न थालेका हुन् ।
लकडाउनका बेला सरकारले कर माग्ने, घरधनीले भाडा माग्ने, बैंकहरुले ब्याज र किस्ता माग्ने गरेपछि व्यवसायीहरुमा संकट पैदा भएको बताएका छन् । तर कोरोना संक्रमितहरु दिनदिनै बढिरहेका बेला लकडाउन खुकुलो पारे संक्रमणले झनै भयानक रूप लिनेतर्फ पनि सम्वद्धहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।
फोटोः हाम्रो कोशी आवाज डटकम

























