Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान बजार आधा बढी खुल्यो, ग्राहक फाट्टफुट्ट

हाम्रो कोशी आवाज
जेष्ठ २४ २०७७, शनिबार
धरान बजार आधा बढी खुल्यो, ग्राहक फाट्टफुट्ट

धरानः लकडाउनकै बेला पनि धरानमा फाट्टफुट्ट पसल स्वतःस्फुर्तरूपमा खुल्न थालेका छन् ।
धरानमा केही पसलहरू खुलेका हुन् । विशेषतः कपडा पसल, पुस्तक, तरकारी, खाद्यान्नलगायतका पसल खुल्ला छन् । सामाजिक दूरी कायम गर्दै बिहान ८ बजे देखि १२ बजेसम्म पसल सञ्चालन गरिएको व्यवसायीले बताएका छन् । मुख्य बजार, सहायक बजार आदिमा पसल खुल्ला छन् । दुईदिनअघिदेखि खोलिएको पसलमा खरिदकर्ता भने खासै आएका छैनन् । ‘पसल खुला भए पनि खरिदकर्ता अर्थात् ग्राहक भने एकजना पनि आएका छैनन् ।’, धरान–९ पुतलीलाइनका व्यवसायी जीवन श्रेष्ठले बताए ।
त्यसमाथि कारोनाको डर एकातिर आवश्यकबाहेक अन्य कामकाजका लगि मानिस बाहिर निस्केका छैनन् । ‘मानिसको आवतजावत नै कम भएपछि सामग्री खरिद गर्नका लागि मानिस आउने त कुरै भएन तर पनि फाट्टफुट्ट आइरहेका छन्’, धरान–९ स्थित हिमाल कलेक्सनकी टंककुमारी गुरुङले भनिन् ।
‘मेरोमा अहिलेसम्म कोही किन्न नै आएको छैन, पसल सफा गरयो बस्यो’, धरानस्थित भानुचोकमा रहेको पसलका बिक्रेता विक्रम श्रेष्ठले भने । धरानस्थित छाताचोकमा केरा बेच्दै आएकी सुशिला खनालले बिहानदेखि ११ बजेसम्म दुई जना उपभोक्ता आएको बताइन् । ‘सबैले कोरोना कोरोना भन्छन्, त्यही भएर पनि कोही बाहिर निस्कन सकेकै छैनन् नि ।’
विश्वभरि फैलिएको कोरोना भाइरसका कारण सरकारले अहिले देश पूरै लकडाउन गरेको छ । दैनिकीलाई सहज बनाउँदै विस्तारै लकडाउन खोल्ने विषयमा सरकारका पदाधिकारीबीच छलफल भइरहेकै समयमा व्यापारीले भने दैनिकी चलाउन समस्या भएको भन्दै केही व्यवसाय सञ्चालन गरेका हुन् । लकडाउनको मोडालिटी परिवर्तन गरी नागरिकको दैनिकी सहज बनाउने विषयमा सरकार सकारात्मक रहेको भए पनि के कसरी व्यापार व्यवसाय सञ्चालन गर्ने भन्नेबारे यकिन निर्णय आउन बाँकी नै छ ।
व्यवसायीले सरकारले तोकेको मापदण्डअनुसार सुरक्षा सतर्कता अपनाइएको बताएका छन् । सुनसरीका ४ वटा उद्योग वाणिज्य संघहरुले पनि संयुक्त विज्ञप्ती जारी गर्दै लकडाउनलाई खुकुलो बनाउदै जोन छुट्याएर व्यापार, व्यवसाय सुचारु गर्न समय तोक्नुपर्ने पनि माग गरेको छ । सुरक्षाको उपायहरु अवलम्बन गरेर सामाजिक दुरी कायम गर्दै व्यवसायीहरुलाई दैनिक बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म व्यवसायिक गतिविधिहरु सञ्चालन गर्न दिइनुपर्ने माग संघहरुको छ ।
यसअघि धरान उपमेयरपालिकाका नगरप्रमुख तिलक राईले आवश्यकताअनुसार पसल खोल्नुपर्ने बताएका छन् । यसअघि मेयर राईले कोरोनासँग सतर्क रही सुरक्षाका मापदण्ड अपनाएर आवश्यकताअनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने र त्यसका लागि वाणिज्य संघको सहभागितामा एउटा टिम तयार गरी मोडालिटी तयारी हुनुपर्ने बताएका थिए । तर संघले अहिलेसम्म केही मोडालिटी तयार गरेका छैनन् ।
तर पनि पसलमा केही भीड, सडकमा सवारी साधन चल्न थालेपछि थालेपछि सजग हुनुपर्ने जनस्वास्थ्यविद्हरुको भनाइ छ । लामो समयको लकडाउनले कष्टकर रुपमा जनजीवन बिताएको कारण मानिसहरु बाहिर निस्केपनि कोरोना भाइरस संक्रमणको सन्त्रास अझैं नसकिएको उनीहरु बताउँछन् ।
फोटोः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: जेष्ठ २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend