Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘तपाईहरूले गर्दा नै हामी बाँच्दैछौं’

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०७७, सोमबार
‘तपाईहरूले गर्दा नै हामी बाँच्दैछौं’

धरानः धरानमा उपचार र खान नपाएर थलिएका राई दम्पत्तिले सहयोग पाउँदा उपचार गर्न पाएका छन् ।
धरान–६ पानबारीका भोजराज राई दम्पत्तिमध्ये भोजराजले उपचार पाएका हुन् । उनले धरानस्थित बीपी प्रतिष्ठानमा उपचार पाएका हुन् । देश–विदेशमा रहेका मनकारीहरूले सहयोग गरेपछि उनले भने उपचार पाएका हुन् । उनकी श्रीमतीले भने अझै उपचार पाएकी छैनन् । थलिएका राई दम्पत्तिमध्ये श्रीमान् क्यान्सर रोगले र श्रीमती खासै आँखा नदेख्ने समस्याबाट पीडित थिए । भोजराजको टाउको छेउ (कन्चट) बाट ८५ वटा किरा निकालिएको थियो ।
तर पनि उपचार नपाएर थलिएका उनी घरमै थिए । हाम्रो कोशी आवाज डटकम र कोशी आवाज टिभी (युटयुब) मा पहिलोपटक समाचार सार्वजनिक भएपछि उनले सहयोग पाएका हुन् ।
ऐलानी जग्गामा घडेरी मात्रै रहेको उनको परिवार टिनले छाएको, वरिपरी बाँसको भाटाले बारिएको घरमा आश्रित थियो । श्रीमती आँखा फुलो परेर आँखा नदेख्ने भएपछि भोजराजलाई पीडामाथि पीडा थपिएको थियो । ‘काम गर्ने मान्छे कोही थिएनन्, खान थिए, उपचार गर्ने खर्च समेत थिएन तर स्थानीय जनपतिनिधी गोमा खनाल, पत्रकार भाइहरूको सहयोग साथै सहयोगी दाताहरूको मनकारी मनले हामी बाँच्ने अवस्थासम्म आइपुग्यौं, हामी बाँच्दैछौं ।’
फेरि कसले दिए कति राहत ?
सोमबार धरान–१५ निवासी चन्दा राईको मनकारी मनले गर्दा उनकै समन्वयमा देशविदेशबाट उठेको रकम हस्तान्तरण गरिएको छ । धरान तीन नेकपाका युवा नेता मिङ्मा भोटे र चन्दाकै छोरा अस्विन राईमार्फत् सोमबार ४५ हजार पैतिस रुपैयाँ हस्तान्तरण भएको हो । हङकङ निवासी योगेश राईले १० हजार, इटहरीकी छोजुङ भोटेले ५ हजार, हङकङ निवासी नै पक्कु चाम्लिङले ५ हजार, हङकङकै पारुहाङ राईले ४८ सय रुपैयाँ सहयोग गरेका थिए ।
यस्तै, साइपस निवासी बिनु चाम्लिङले ६ हजार १ सय पैतिस, काठमाडौं निवासी विष्णु राई र साथीहरूले तीन हजार, धरान–१५ की पन्ना राईले दुई हजार, धरान–५ की मेनुका देवानले दुई हजार, धरान–१५ की दिपिका लिम्बुले एक हजार, वेल्जियम निवासी एन्जल राईले पच्चीस सय, धरान–१९ की समी श्रेष्ठले एक हजार, धरान–८ की लक्ष्मी राईले एक हजार, धरानका मिङ्मा भोटेले एक हजार सहयोग दिएका थिए ।
यसअघि कसले कति दिए राहत ?
धरानका केही मनकारी व्यक्तित्वहरूले उनलाई २० हजार रुपैयाँ उपचार खर्च गर्नु भन्दै दिएका छन् ।
भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका साम्के निवासी (हाल युके कर्मथलो) रहेकी समाजसेवी मनकारी देविका राई परिवारबाट ५ हजार, धरान– १९ चौकिबारी निवासी हाल युके बस्दै आएका समाजसेवी चित्र मादेन परिवारबाट ५ हजार, धरान–१८ बुद्धचोक निवासी समाजसेवी श्रीमती हिमाल राईबाट ३ हजार, धरान–१० क्याम्पस रोड निवासी (हाल युके निवासी) समाजसेवी माला तावा लिम्बू परिवारबाट २५ सय, धरान–१९ निवासी समाजसेवी प्रेमकला राईबाट ३ हजार, धरान–१५ निवासी समाजसेवी विमला राईबाट १५ सय रूपैयाँ गरेर जम्मा २० हजार रूपैयाँ प्रदान गरिएको छ । २० हजार रूपैयाँ हातमा लिएपछि उनको आँशु थामिएन ।
साथै उनीहरूका लागि धरान–११ निवासी शिव बान्तावा राई, रामकृष्ण राई र जीवन राईबाट दुई बोरा चामल (५० केजी) दुई लिटर तेल, दुई केजी चिनी, दुई केजी नुन, दुई केजी दाल, ६ वटा साबुन वितरण गरिएको थियो । उनले सबै सहयोगीलाई धन्यवाद पनि दिए ।
होप धरानको टिम पुगेर केही खाद्यान्न, बिस्कुट, तरकारीलगायत दिएको थियो । अध्यक्ष निश्चल मोहन पलिखेको अगुवाई र धरान–८ निवासी हङकङ बस्ने विन्दिया राईको सहयोगमा सो सामान हस्तान्तरण गरिएको थियो । यस्तै, हङकङ नै बस्दै आएका धरान–८ निवासी सुन्दर राई र दिनेश राईले पनि ५ हजार ५ सय ५ रूपैयाँ हस्तान्तरण गरेका थिए । अध्यक्ष पलिखेले ग्याँसलगायतका अन्य सामान पनि सहयोग गरेका थिए ।
कसरी थपियो पीडा ?
भोजराजको शुरूमा कान छेऊमा सानो कोठी आएपछि त्यो पाकेर ८०–८५ वटा किरा निकालिएको छिमेकीले बताए । बीपी प्रतिष्ठान पुगेपछि चिकित्सकले क्यान्सर भएको भन्दै अप्रेसन गरे । आर्थिक समस्याले थलिएका भोजराज दम्पत्तिमध्ये श्रीमतीको अहिले पनि उपचार हुन सकेको छैन । खर्च अभावले नै श्रीमतीको पनि आँखाको उपचार गर्न नसकिएको पीडा सुनाउँछन् भोजराज । उनले उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: जेष्ठ २६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend