Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सम्भव होला अनलाइन कक्षा ?

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०७७, मंगलबार
सम्भव होला अनलाइन कक्षा ?

धरानः मङ्गलबार धरानमा मोबाइल खरिद गरिरहेकी धरान–१७ की सिर्जना तामाङले छोरीलाई अनलाइन शिक्षाका लागि मोबाइल खरिद गरेको बताइन् । भनिन्, ‘खै के जमाना आयो आयो, छोराछोरी मोबाइलबाटै पढ्ने रे, अन्य साथीहरूले पढ्न थालिसके भनेर कचकच गर्न थाली, नलग्दी भएन ।’
धरानमा मोबाइल, ल्यापटप किन्ने र मर्मत गर्ने बढ्न थालेको व्यवसायीले बताएका छन् । सरकारले अनलाइन (भर्चुअल) मार्फत् शिक्षा दिने नीति ल्याएको र कतिपय स्कुलले पहुँच पुगेसम्म अनलाइनमार्फत् पढाउन थालेको जानकारी पुग्न थालेपछि मोबाइल, ल्यापटप मर्मत साथै खरिद गर्ने बढेका हुन् । धरानका सामुदायिक र निजी विद्यालयले निश्चित समय तोकेर अहिले पनि अनलाइनबाट सञ्चालन गरिरहेको बताउँछन् । अनलाइनबाट सञ्चालनका लागि इन्टरनेट, मोबाइल, ल्यापटप र कम्प्युटरको आवश्यकपर्ने र जुम, वाट्सअप, फेसबुक म्यासेन्जरलगायतको सहयोगले अनलाइन कक्षा हुने भएकाले अभिभावक मोबाइल र ल्यापटप किन्न आउने गरेको मोबाइल तथा कम्प्युटर व्यवसायीको भनाइ छ ।
‘मेरो अलि छिटो बनाइदिनुप¥यो, मलाई हतार छ भन्ने अभिभावकहरू बढ्न थालेका छन्’ धरान–१२ छाताचोक तलरित रहेको माइक्रोटेक कम्युटरका सञ्चालक निरोज घिमिरेले थपे, ‘मेरोमा चाहिँ किन्नेभन्दा बढी पुरानो सामान मर्मत गरेर काम चलाउने बढेका छन् ।’ उनले भने । उनले हालसम्म ल्यापटप किन्ने पनि पहिलाको तुलनामा बढेको बताए । कतिपय अभिभावकहरूले बालबालिका भुल्याउन पनि मोबाइल खरिद गर्ने गरेको व्यवसायी बताउँछन् ।
‘खै अरुकै देखासिखी हो कि, साँच्चै हो, अनलाइनबाट पढ्ने रे, मोबाइलको एप्समार्फत् पनि हुन्छ भन्दै मोबाइल किन्ने पठायो’, धरान–११ बस्ने कल्पना राईले भनिन्, ‘त्यही भएर छोराको लागि छुट्टै मोबाइल खरिद गर्न आएको हुँ ।’
बिहानदेखि नै पसल खोल्दै आएका धरान–९ स्थित धरान सिएस्सी अफिस अटोमेसनका सञ्चालक रविन श्रेष्ठ क्यामेरा, ल्यापटपलगायतका सामग्री खरिद गर्ने बढ्दै गएको बताए । ‘बन्दाबन्दी छ, खासै बिक्री हुँदैन होला भनेको, अहिले विशेषतः ल्यापटप र क्यामेराको माग बढ्न थाल्यो ।’ उनले भने ।
निम्न वर्गकालाई असर
बन्दाबन्दीका कारण शैक्षिक संस्था पूर्णरूपमा बन्द रहेका छन् । लकडाउनका कारण विद्यालयका पठनपाठन हुन नसकेपछि केही विद्यालय र क्याम्पसले पठनपाठन अनलाइनबाट सञ्चालन गरिरहेका छन् । यसरी सञ्चालन हुँदा कमजोर आर्थिक अवस्था हुनेलाई यसरीले असर पु¥याएको छ । उनीहरूको आर्थिक अवस्था कमजोर हुँदा बालबालिकाको पढाइ बिग्रने हो कि भन्ने चिन्ता थपिएको बताउँछन् ।
धरान–१६ की लिला श्रेष्ठ बच्चाको पढाइ बिग्रने पो हो कि भन्ने चिन्तामा छिन् । ‘सबै साथीले कता नेट जोडेर पढ्न थाले रे भनेर छोरीहरूले किचकिच गर्छन्, मोबाइल त छ नि त्यही पनि खासै काम गर्दैन, मैले भनें न ल्यापटप किन्न सकें, न नेट नै छ ।’
अभिभावकले ल्यापटप, मोबाइलको माग बढाएपनि र अनलाइन कक्षा फाइदाजनक भएपनि सबैको पहुँचमा नहुनु दुःखद् रहेको शिक्षकहरू बताउँछन् ।

प्रकाशित मिति: जेष्ठ २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend