धरानः अन्ततः सरकारले एसइई परीक्षा स्थगित भएको जनाएको छ । बिहीबार (आज) यसको औपचारिक निर्णयबारे जानकारी होला । तर धरानका विद्यार्थीले यसबारेमा प्रतिक्रिया दिएका छन् । कति परीक्षा स्थगित भयो भनेर खुशी छन् भने कति दुःखी ।
कोरोनाका कारण गत चैतमा स्थगित भएको परीक्षा नहुने भएपछि धरानस्थित सुनाखरी एकेडेमीमा अध्ययनरत विनिशा राईले परीक्षा स्थगित भएपछि खुशी लागेको बताइन् । ‘झन्झटै साफ भएको अर्थात् टरयो, पढ्नै परेन’, उनले भनिन् । विनिशाले कोरोना कहरपछि एसइई हुने भनिएपनि नहुँदा अधिकांश साथी पनि खुशी रहेको सुनाइन् ।
ज्वालामुखी मावि, पटनाली, धरान–१७ की अप्सरा खत्रीले परीक्षा स्थगित हुँदा दुःखी भएको बताइन् । उनले लकडाउनमा पनि दिनरात नभनी थप पढेको मिहिनेत खेर गएको उनको भनाइ छ । ‘राम्रो ग्रेड ल्याउँदा भन्ने थियो, मिहिनेत पनि खुबै गरियो’, उनले हाम्रो कोशी आवाज डटकमसँग भनिन्, ‘सरकारको निर्णयले मेहनत नै खेर गयो ।’
उनले यस्तो नसोचेको पनि बताइन् । ‘आशा थियो, तर यस्तो होला भन्ने सोचेकै थिइनँ तर भैदियो त्यस्तै । आन्तरिक मूल्यांकनबाट प्रमाणपत्र पाउँदा कस्तो हुने हो, यो निर्णय त्यति व्यवहारिक भएन कि ?’
कतिले होस्टल बसेर वा कोठा भाडा तिरेर बसेर भएपनि एसइईको तयारी गरेका थिए, त्यो सबै खेर गएको समेत बताउँछन् । ‘होस्टेलमा बसेर खर्च गरयौं, पढ्न पनि रकम खर्च भयो, मिहिनेत पनि खुब गरियो’, धरान–१९ की सिर्जना राईले भनिन्, ‘सबै खेर गयो ।’
यत्रो महिनाको लकडाउनमा पनि सरकारले एसइई गर्ने, नगर्ने निर्णय गर्न नसकेकोमा उनी दुःखी छिन् । ‘यस्तो पाराले क्षमताको मूल्यांकन नै देखिएन, अब कति कति ग्रेड आउने हो, त्यो थाहा छैन ।’ उनले विद्यार्थीमा नकारात्मक असर पर्न गएको सुनाइन् । ‘जस जसले यस्तो महामारीको समयमा पनि घरमै कुरेर एसइई हुन्छ भन्दै मिहिनेत गरे, यसमा चाहिँ म बढी दुःखी भएको हुँ ।’
धरानकै विद्यार्थी अभिशेक कार्की, सन्दीप राई, रिया लिम्बु, मनिष पोद्दार, अश्विन लिम्बुलगायतका विद्यार्थी पनि निर्णयले खुशी छन् । ‘तर कति ग्रेड आउने हो भन्नेमा चाहिँ डर छ है ।’ रियाले भनिन् ।
धरानस्थित पब्लिक माविका प्राचार्य इन्द्रमोहन झाले अन्यौलको स्थितिमा निर्णयलाई स्वागत गरिएको बताए । ‘अब विद्यार्थी ध्यान ११ तिर जाने भयो, कहिले एसइई होला, के होला भन्दै मिहिनेत गर्दागर्दै वाक्क बनिसकेका विद्यार्थीलाई सहजता मिलेको छ ।’ उनले भने ।
विष्णु स्कुलका प्राचार्य वेनिन्द्र कटुवालले महामारीको बेलामा ढिलै गरेपनि सही निर्णय गरेको बताउँछन् । ‘सरकारले सही निर्णय नै गरेको हो, यसले विद्यार्थीलाई बढी फाइदा हुने हो ।’
लामो समय अनिर्णयको बन्दी बनेको सरकारले बुधबारको मन्त्रिपरिषद्बाट यो पटकको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनबाटै जारी गर्न भन्दै परीक्षा नगर्ने निर्णय लिएको थियो । अब एसइई नै खारेज गर्नुपर्नेतर्फ मत बढ्दै गएको छ । नेपालमा १९९० सालबाट प्रवेशिका परीक्षा शुरु भएको थियो । प्रवेशिका परीक्षाको इतिहासमा परीक्षा सञ्चालन नहुने निर्णय भएको यो पहिलो घटना हो । विगतमा कुनै कुनैवर्षमा केही दिन र महिनासम्म परीक्षा स्थगित भएपनि पछि सञ्चालन गरिएको थियो ।