धरानः गत माघमा आगोले पोलेर घाइते भएका देवी बराइलीको छालाको अप्रेसन सफल भएको छ ।
आर्थिक अभावका कारण उपचार हुन नसकेको समाचार आएपछि सहयोगी हात बढेसँगै उपचार शुरु भएको हो । काठमाडौको वीर अस्पताल ट्रमा सेन्टरमा गत आइतबार अपरेसनको लागि भर्ना गरिएका थिए ।
उपचारमा संलग्न रहेका जनता समाजवादी नेता दलमर्दन कामीले बराइलीको तिघ्राको छाला निकालेर टालेको जानकारी दिए । उनले त्यहाँ उपचारको क्रममा दैनिक १० हजार बराबरको खर्च भएको बताए । अब करिब ३ हप्ता जति अस्पतालमै बस्नुपर्ने चिकित्सकले सल्लाह दिएको उपचारमा संलग्न उनले जानकारी दिए ।
अब दैनिक ३ हजारसम्म खर्च हुने भन्दै करिब एक लाख पचास हजार जति लाग्ननसक्ने उनले बताए । उनले अस्पतालले समेत ठूलो सहयोग गरेको भन्दै अस्पताललाई पनि धन्यवाद दिनुपर्ने बताए ।
यसअघि धरान विराटनगर बराहक्षेत्र लगायतको अस्पतालमा उपचार गराउँदा माछाको छाला लगाउनुपर्छ भनेर डाक्टरले सुझाव दिएपछि आर्थिक अभाव भएको थियो । त्यसपछि बराइली उपचार आर्थिक संकलनको लागि नरेश विकको संयोजकत्वमा समिति बनाएर बराहक्षेत्र, धरान, पथरी लगायतमा विभिन्न ब्यक्तिको अगुवा तथा सन्चारकर्मीको समेत संलग्नमा आर्थिक संकलन भएको थियो । उनको हाल काठमाडौको वीर अस्पतालमा उपचार भइरहेको छ । संयोजक विकले अब करिब एक लाख रुपैयाँ सहयोग आवश्यक पर्ने भएकाले सहयोगको अपिल गरे ।