धरानः सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । जोर बारमा जोर नम्बर भएका र बिजोर दिनमा बिजोर नम्बर भएका सवारी साधन चलाउन पाइनेछ । तर, मोटरसाइकलमा चालक मात्र बस्न पाउनेछन् । त्यस्तै, कारमा चालकबाहेक दुई जना मात्र बस्न पाउने निर्णय गरिएको छ ।
धरानमा शनिबारको दृश्य हो । अधिकांश प्रहरीबाट छल्लिँदै, डराउँदै दुईजना मोटरसाइकलमा चढेको देखियो ।
‘साह्रै गाह्रो भयो, भानुचोकतिर गयो भने प्रहरी बसेको हुन्छ, यताबाट लागियो’, सब्जीमण्डीमा भेटिएका धरान–११ का प्रविन राईले भने, ‘साथीलाई अपरझट काम परेर लैजान लागेको थिएँ घरमा दुईजना चढ्न पाइँदैन भन्ने होहल्ला भयो, त्यही भएर भित्री बाटो हुँदै साथी पुरयाउन हिँडेको ।’
उनीमात्रै होइन अहिले अधिकांश प्रहरीसँग छल्लिदै डराउँदै हिँड्ने बढेका छन् । ‘नडराएर के गर्नु कहाँ जानुपर्ने हुन्छ चाबी खोसियो भने झनै बिजोग अवस्था हुन्छ ।’ धरान–६ पानबारीका तुलमान राईले भने ।
तर भानुचोकबाटै दुईजना मोटरसाइकलमा चढेर हिँड्ने पनि बढेका छन् । भानुचोक, ट्राफिक प्रहरी कार्यालय छेऊ (भोटेपुल), देशीलाइन, पुतलीलाइन, पुरानो बजार लगायतका क्षेत्रमा पनि दुवैजना मोटरसाइकल चढेर हिँडिरहेको दृश्य देखिन्छ ।
धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अन्जन कोइराला अहिले दुईजना चढ्ने धरानमा दुईजना चढ्नेलाई सम्झाइबुझाइ पठाउने गरेको बताए । ‘माथिबाट दुईजना चढ्न नपाउने भन्ने नियम छ, हामी त नियम, निर्देशन मान्ने हो तर पनि दुईजना सकेसम्म नचढीदिनुहोला भनेर सम्झाएर पठाउने गरेका छौं ।’ उनले आफूहरूलाई पनि व्यवहारिक कठिनाइ भएको महसुस भने भएको बताए । ‘कोही मोटरसाइकलको पछाडि बिरामी बोकेर पनि हिँडेका होलान्, रोक, रोक दुईजना चढ्न पाइँदैन भन्नु भएन’, उनले थपे, ‘तर निर्णय भएदेखि आजसम्म हामीले सम्झाएर पठाउने गरेका छौं ।
उता मोटरसाइकलमा दुई जना चढ्न नपाउने सरकारको निर्णयको सबैतिर विरोध भइरहेको नै छ । सुरक्षा प्रमुखहरूले पनि त्यो नियम हटाउन गृहमन्त्रीलाई सुझाव दिएका छन् । गृह मन्त्रालयमा शुक्रबार अपराह्न भएको बैठकमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका तीनै जना प्रमुखले मोटरसाइकलमा दुईजनालाई चढ्न नदिने नियम हटाउन सुझाएको स्रोतले जनाएको छ ।




