धरानः धरानमा प्रतिनिधिसभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै े दीप प्रज्ज्वलन भएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको खुशीयालीमा दीप प्रज्ज्वलन गरिएको हो । भानुचोकमा भेला भएका स्थानीय नेता, कार्यकर्ताहरूले झण्डा र नेपालको नक्सा बनाएर भानुचोकमा रहेको बसपार्कस्थलमा दीप प्रज्ज्वलन गरेका हुन् ।
कार्यक्रममा स्थानीय नेता नारायण सुवेदी, विद्यार्थी नेता खेम रनपहेंलीलगायतले बोलेका थिए । प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ ।
शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो । जसअनुसार संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे । संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ ।
यसअघि प्रतिनिधिसभा नियमावलीको नियम १३७ को उपनियम ९ बमोजिम सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारत भएको मानिने व्यवस्था अनुसार सोही नियम १३७ को १० बमोजिम मत विभाजन गराइएको थियो ।
नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । नेपालको नयाँ राजनीतिक नक्सा जारी भएसँगै सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक अघि बढाएको थियो ।
हेरौं भिडियो र फोटोः
हाम्रो कोशी आवाज डटकम


