धरानः बन्दाबन्दी अर्थात् लकडाउनको अवधिमा धरानमा आपराधका घटनामा केही कमी आएको छ । प्रहरीको व्यापक निगरानी र अधिकतर मानिस घरभित्रै बसेको हुनाले पनि अपराधका घटनामा उल्लेख्य कमी आएको प्रहरी बताउँछ ।
विगत वर्षको तुलनामा यही बन्दाबन्दीकै समयमा आपराधिक घटनामा भने ८५ प्रतिशतले नै कमी आएको प्रहरी बताउँछ । श्रीमान्–श्रीमतीको झगडा र लागूऔषध ओसारपसारबाहेक अन्य अपराधका घटना प्रायः शुन्यझैं रहेको धरान प्रहरीको दावी छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लागूऔषध दुव्र्यसनकै कारण धरानमा हुने अन्य आपराधिक घटनामा केही कमी आएको बताउँछन् । उनले भने, ‘धेरैजसो मानिस परिवारका सबै सदस्यसँगै बसेकाले पनि यस्ता घटनामा कमी आएको छ ।’
प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार लुटपाट, चोरी, हत्याजस्ता अपराधका घटना भइरहने धरानमा यस्ता प्रकारका कुनैपनि आपराधिक घटनाको उजुरी नआएको बताउँछन् ।
‘लकडाउन’ अवधिमा सबै घर–घरमा बस्ने र महामारीको त्रासका कारण अरू आपराधिक गतिविधिका घटना नभएको प्रहरी बताउँछ । ‘धरानकै कुरा गर्ने हो भने सबैभन्दा बढी लागूऔषध ओसारपसार, गुण्डागर्दी, लुटपाट, चोरी, छुरा हानाहान, कट्टी हानाहान हुने गर्दथे तर ती घटना शुन्यमा झरेका छन् ।’ उनले भने, ‘लकडाउनले सबै घरमा बसेपछि यी घटनामा अहिलेसम्म एउटा पनि उजुरी आएको छैन, अपराधका घटना शुन्य नै छ ।’
झगडा बढायो
धेरैजसो मानिस परिवारका सबै सदस्यसँगै बसेकाले फेरि झगडा भने बढेको छ । श्रीमान्–श्रीमतीको झगडा वा अन्य प्रकारका झगडाका प्रकृति भएका घटनाका उजुरी भने आएको डिएसपी बस्नेत बताउँछन् ।
यस्तै, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध विच्छेदसम्मका घटना पनि घटेको उनी बताउँछन् । प्रहरीले कोरोनाका कारण मानिस महिनौं सँंगै घरमा बसिरहँदा सम्बन्ध–विच्छेदसम्मको घटनासमेत बढेको बताउँछ । ‘विवाहित जोडीहरू घरमा लामो समयसँगै बिताउँदा अनेकन विवादमा फँस्ने गरेको पाइएको छ’, उनले भने, ‘त्यही विवाद यहाँसम्म आइपुग्ने गरेको हो ।
हिंसालगायत घटना भएको खण्डमा जसरी पनि प्रहरीसमक्ष पीडितहरू पुग्छन् । सामाजिक हिंसाले फरक रुप लिएको उनी बताउँछन् । उनी भन्छन्, ‘सहेरै बसौं न भन्दा भन्दै पीडित नै डिप्रेसनमा जाने सम्भावना हुन सक्छ, त्यसैले प्रहरीकहाँ आइपुग्नुपनि ठूलो कुरा हो, यहाँ आएपछि हामी मिलाएर पठाइदिन्छौं ।’
उनले दिनमै ४–५ वटासम्म यस्ता घटनाका उजुरी आएको बताए । ‘दिनमै ४–५ वटासम्म पनि यस्ता घटनामा उजुरी दिने आए,’ उनले थपे, ‘कोही हामी श्रीमान्–श्रीमती हौं भन्छन्, कोही साथीभाइ, कोही आफन्त उजुरी दिन आएका हौं भन्दै आएका छन् तर सामाजिक दुरी कायम गर्दै भेला पारेर सम्झाइबुझाइ पठाउने गरेका छौं ।’
प्रहरीका अनुसार महिला हिंसाका घटना पनि बढ्दो छ । अभाव छ । घरमा खाने चामल हुँदैन । निम्नस्तरका परिवारमा घरेलु हिंसा पछिल्लो समय चरम सीमामा पुगेको प्रहरी बताउँछ । धरानमा आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको देखिएको छ । प्रहरीले केही कर्तव्य ज्यान तथा भवितव्यका घटना तथा घरभित्र हुने अपराध र जबर्जस्ती करणीका घटना भने घटेको जनाउँछ । विश्वमा कोरोना भाइरस कोभिड–१९ ले महामारीको रूप लिएपछि सरकारले लकडाउन गरेको हो ।