धरानः धरानमा विवाद, संघर्षपछि नाटकघर बन्ने नै भएको छ । धरान–८ सभागृह क्षेत्रमा नाटक घर निर्माण हुने भएको हो । सभागृह क्षेत्रको दुई कट्ठा जमीनमा नाटकघर बन्न लागेको हो । प्रदेशस्तरीय भनिएको नाटक घर निर्माणमा यसअघि विवाद भएको थियो । धरान उपमहानगरपालिकाले नै दुई कट्ठा क्षेत्रको जग्गामा नाटक घर बनाउने निर्णय गरेसँगै स्थानीयबासीले पार्कलगायतका संरचना बनाउन माग गरेका थिए । तर स्थानीयसँगको सहमतिपछि विवाद सुल्झिएपछि नाटक घरको शिलान्यास भएको छ ।
बिहीबार संघीय सांसद जयकुमार राईलगायतको उपस्थितिमा नाटकघरको शिलान्यास भएको छ । कार्यक्रममा बोल्दै सांसद राईले नाटक घर निर्माणका लागि अझै बजेट छुट्याइनुपर्छ भनेर लागिपरेको उनले बताए । ‘५ करोडमा नाटकघर कसरी बन्ला भन्ने पञ्श्न पनि उठाइएको छ तर नाटघर बन्छ ।’ उनले भने ।उनले नाटक घर निर्माणको लागि उपमानगरपालिका, प्रदेश र केन्द्र सरकारसँग पनि बजेटको पहल गर्ने बताए । ‘यो जनप्रतिनिधिको मात्रै होइन, सिङ्गो धरानको साझा सम्पत्ति हो, तीनै तहमा बजेट विनियोजनका लागि पहल गर्नेछु’, उनले भने, ‘नत्र यो धरानेको साझा सम्पत्ति भएकोले देशविदेशका सबैलाई गुहारिन्छ ।’
नाटकघर निर्माण समितिका सचिव अरुणकुमार प्रधानले स्थानीयसँग लिखित सहमति भएपछि विवाद सुल्झिएको बताए । करिब ५ करोड रूपैयाँको लागतमा निर्माण सम्पन्न हुने अनुमानले थालिएको नाटकघर बनाउन सांसद राईले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेका थिए । नाटक घर निर्माण हुने पक्का भएपछि धराने रङगकर्मी खुशी देखिएका थिए । नाटकघर करिब २ वर्षमा निर्माण सक्ने लक्ष्य छ ।
यसअघि धरानमा नाटकघर नबनाउन अदृश्य शक्तिको चलखेल भएको भन्दै धरानका नयाँ तथा पुराना रंगकर्मी, कलाकारको टोली लागिपरेको थियो । उनीहरूले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाएका थिए । कलाकार प्रेम सुब्बाको संयोजकत्वमा निर्माण पहल समिति गठन गरेर नाटकघर बनाउनैपर्छ भनेर दबाव दिन यस्तो कार्यक्रम आयोजना गरिएको सचिव अरूणकुमार प्रधान बताउँछन् ।
सभागृहको कुनामा करिब दुई कट्ठा खाली छ, त्यही जग्गामा नाटकघर बनाउने भनेर एक किसिमको सहमति पनि भइसकेको तर अदृश्य शक्तिकै कारण रोकिन गएको रंगकर्मीहरूले बताउँदै आएका थिए । नाटकघर निर्माणको निम्ति धरानका सम्पूर्ण नाट्य संस्थाका प्रतिनिधित्व गराएर अग्रज रंगकर्मी समेत रहेका कलाकार प्रेमको संयोजकमा पहल समिति गठन गरिएको थियो ।

