धरानः धरान उपमहानगरपालिका हो । उपमहानगरका धारामै धमिलो पानी आउँछ । खानेपानी संस्थानले वितरण गरेको यो पानी अधिकाङ्शले प्रयोग गर्दै आएका छन् । यस्तो पानी नपिएर पनि के गर्ने ? धरानमा विकल्प नै छैन । मासिक महसुल भने बुझाउन बाध्य हामी यस्तो पानी कतिञ्जेल पिउने भन्ने हो । धारामा सेतो (दूधजस्तो) अनि धमिलो पानी आएको तीन चार दिन भयो । धारामा कहिलेकाहीं १–२ दिन सफा पानी आएपनि पुनः धमिलो पानी आइहाल्छ । दूध मिसिएको जस्तो धमिलो पानीले रुघा लाग्न थालिसकेको छ । भोलि ज्वरो पनि नआउला भन्न सकिन्नँ । यस्तै पानीका कारण अहिले ज्वरो आउन सक्छ । धरानबासीले बर्खा लागेपछि जहिल्यै धमिलो पानी पिउन बाध्य छन् । संस्थानको ध्यानाकर्षण होस् । नत्र अर्को महामारी निम्तिन सक्छ त ? अब त कोरोनाले भन्दा पनि धमिलो पानी खाएर बिरामी भएर बाँचिदैन जस्तो पो लाग्न थाल्यो त । धरान–१५ की गीता कटुवालले इमेलमार्फत् यस्तो लेखेर पठाइन् । हुन पनि हो जनतालाई पानी खुवाउँछौं भन्ने जुनसुकै दल अहिले खानेपानी आयोजना असफल भयो भन्दै हिँडेका छन् ।
नेकपा, नेपाली काङ्ग्रेसजस्ता दलले पनि हिजो पानी खुवाउँछौै नै भनेका थिए तर तिनै दल पनि धरान खानेपानी आयोजना असफल परियोजना भन्न थालेका हुन् । यसअघि स्थानीयस्तरमा नेकपाको सरकार हुँदा पनि धरानमा काङ्ग्रेसले खुब पानीको चर्चा गर्दथ्यो र भन्ने गर्दथ्यो–पानी खुवाउँछौं । अहिले काङ्ग्रेसको प्रमुख छन्, अहिले नेकपाले भन्ने गरेको छ–पानी जस्तो गम्भीर विषयमा स्थानीय सरकार कानमा तेल हालेर बस्ने, अबको दायित्व उहाँहरूको हो ।
यसैबीच धरान उपमहानगरपालिकालाई सङ्घीय लिम्बुवान मञ्च सुनसरीले ज्ञापनपत्र बुझाएको छ । मेयर तिलक राईलाई भेटी ज्ञापनपत्र बुझाइएको मञ्चका जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए । ज्ञापनपत्रमा कमिसनको चक्करमा फँसेर एडिबीको खानेपानी योजना असफल भएको जनाइएको छ । ज्ञापनपत्रमा अहिले पनि उपभोक्ताले सहजरूपमा पानी खान नपाएको, वर्षायाममा पनि धरानमा खानेपानीको अभाव देखिनु र धरानेले जहिल्यै समस्या खेप्नुपरिरहेको जनाइएको छ ।
परियोजना र धरान उपमहानगरपलिका बिच भएको सम्झौता अनुसार प्रति दिन १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने भनेर उल्लेख भएपनि सहमतिमा उल्लेख भएबमोजिम उत्पादन हुन नसकेको मञ्चको ठहर छ ।
पार्टीका केन्द्रीय अध्यक्ष सञ्जुहाङ र जिल्ला अध्यक्ष अमर इजमले जारी गरेको ज्ञापनपत्रमा यो परियोजनाले धरानको दीर्घकालीन खानेपानी को समस्या समाधान गर्न असफल रहेको जनाइएको छ ।
एडिबीको ऋण तथा अनुदान र धरान उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको करिब २२० करोडको धरान खानेपानी आयोजना असफल भएसँगै धरानमा खानेपानीको हाहाकार बढ्दो छ । असफल आयोजनालाई प्रमाणिकरण नै नगरी धरान खानेपानी व्यवस्थापन बोर्डले जिम्मा लिएकोप्रति आम धरानबासीले तीब्र विरोध गर्दै आएका छन् ।
आयोजना ल्याउँदै गर्दा धरानवासीलाई सन् २०३१ सम्म न्यूनतम् १६ देखि २४ सै घण्टा ७ मिटरको प्रेसरमा डब्लुएचओ मापदण्डको शुद्ध खानेपानी उपलब्ध गराउने भनिएतापनि आयोजना सकिएको ५ महिनापनि नपुग्दै धरानमा खानेपानीको हाहाकार हुनुले आयोजनाको डिपिआर पनि गलत भएको र धरानवासीलाई झुट र भ्रममा राखेर अर्बौको लगानीको चरम दुरुपयोग र भ्रष्टाचार भएको पुष्टि भएको खानेपानीकै लागि दौडिरहने र आयोजना सफल समेत भन्दै आएका सुजेन्द्र गोले बताउँछन् ।
संघीय समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बूले धरानवासी माथि खानेपानीको नाममा ठूलो घात गरेको भन्दै यथास्थितिमा अधूरो, अपूरो, अप्रमाणित र असफल आयोजना कुनैपनि हालतमा जिम्मा लिन नहुने बताए ।
