धरानः प्रदेश १ का विभिन्न क्याम्पसमध्ये धरानको हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पसले चर्चा कमाएको छ । यहाँ पठनपाठन हुने विषयले विद्यार्थीमा आकर्षण पनि छ । फरक विषयको पठनपाठन हुने हुनाले पनि यो चर्चित छ । यहाँ पोषण तथा खाद्य विज्ञान पनि पठनपाठन हुन्छ । स्नातक तहमा पोषण विज्ञान पढाइ हुने नेपालको यो एक मात्रै क्याम्पस हो । तर पनि पढेर पनि जागिर नमिल्ने शिक्षा भन्दै विद्यार्थीले आलोचना गर्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई पोषण विज्ञान विषय अध्यापन गराउन अनुमति दिएको हो । अध्ययनका लागि ३० वटा सिट निर्धारण गरिएको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्रमुख डा. धनबहादुर कार्की बताउँछन् ।
यसअघि विद्यार्थीले पोषण तथा आहार विज्ञान पढियो तर बेरोजगारी भइयो भन्दै क्याम्पसमा ताला समेत लगाएका थिए । ‘बेरोजगार भएपछि के नै लाग्दो रहेछ,’ संघर्ष समितिका संयोजक चन्द्रमणि पौडेलले भने, ‘त्यतिबेलाको आन्दोलनताका तालासमेत चन्दा उठाएर किनेर लगाएका थियौं, तर अहिलेसम्म कुनै माग सुनुवाइ भएको छैन ।’
राष्ट्रिय योजना आयोगको प्राथमिकताको सूचीमा परी त्रिभुवन विश्वविद्यालय विज्ञान प्रविधि संस्थानअन्तर्गत हात्तिसारमा आव २०६६–०६७ देखि पोषण तथा आहार विज्ञानमा स्नातक तह अध्ययन अध्यापन भएपनि बेरोजगार बस्नुपरेको विद्यार्थीको गुनासो छ ।
‘हो नि पढ्ने बेलामा चाहिँ बेरोजगार हुनुपर्दैन भन्ने तर न लोकसेवा खुल्छ, न कतै जागिर नै पाइन्छ, कहिलेसम्म विद्यार्थीलाई झूटो सपना बाँडिरहने ?’ संयोजक पौडेल भन्छन् । उनले उत्पादित दक्ष जनशक्तिलाई उचित व्यवस्थापन गर्नुको साटो उल्टै बेरोगारीको संख्या बढाउन २४ देखि ३० सिटसम्म बनाउने कार्य भइरहेको र क्याम्पस विद्यार्थीको भविष्यभन्दा पनि पैसामुखी भएको बताए । लोकसेवा आयोगमा दरबन्दी सिर्जना गरिनुपर्ने उनको माग छ ।
क्याम्पसले यहाँ अध्ययन गर्ने विद्यार्थीहरूलाई जागिर पाउने भन्दै वर्षेनी आश्वासन मात्र दिँदै आएको विद्यार्थीको भनाइ छ । यो कार्यक्रमले विभिन्न अस्पताल, पोषण सचेतना कार्यक्रम, तारे होटेल लगायत बहुआयामिक क्षेत्रमा पोषण तथा आहारसम्बन्धी ज्ञान भएका जनशक्ति समावेश गराउने उद्देश्य लिएको थियो । तिनै जनशक्ति अहिले सरकारी उपेक्षाका कारण बेरोजगारीको चपेटामा परेका छन् ।
पोषण तथा आहारमा स्नातक गरे पनि सरकारले यसका लागि लोकसेवा परीक्षा भने खुलाउन सिफारिस गरेको छैन । यस विषयको स्नातकोत्तर तहको अध्यापन शुरु हुनुपर्ने, एनएचपीसी वा उपयुक्त विकल्प खोजी सो विषयलाई दर्ता गरिनुपर्ने, लोकसेवा आयोगमा दरबन्दी सिर्जना गर्नुपर्ने लगायतका माग पहिलादेखि नै राख्दै आएको विद्यार्थी बताउँछन् ।

केही महिनाअघि क्याम्पस परिसरमा ताला लगाउन भेला भएका विद्यार्थी । फाइल फोटोः हाम्रो कोशी आवाज डटकम
‘यसले दक्ष जनशक्ति विदेश पलायन हुन बाध्य छन् । विदेश जान नचाहने र नसक्नेहरू विषय परिवर्तन गरेर पढ्न बाध्य छन् । स्नातकपछि पूर्ववत् विषयमै स्नातकोत्तर गर्नेको संख्या अतिकम छ । पोषणविद् तथा आहारविद् उत्पादन निम्ति त्रिविले गरेको खर्च बालुवामा पानी हालेसरह बन्न पुगेको छ । विद्यार्थीले भोग्नुपरेको मानसिक तनावको कुरा त भनिसाध्य छैन ।’ विद्यार्थी अभिसेक तिवारी भन्छन् ।
उनले सरकारी उपेक्षाकै कारण बेरोजगार बन्नुपरेको बताउँछन् । ‘खानपानका विज्ञ दक्ष जनशक्ति नै सरकारी उपेक्षा र ढिलासुस्तीका कारण बेरोजगार बन्नु दुःखद् हो’, उनी भन्छन्, ‘यो सबै सरकारी उदासीनताकै कारण हो ।’
उता नेपालमा भने सरकारी अस्पतालमै डाइटिसियनको अभाव छ । औंलामा गन्ने अस्पतालमा डाइटिसियन छन् भने भएका पनि सीमित संख्यामा रहेको नेपाल डाइटिसियन संघले औल्याएको छ । हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमाचाहिँ डाइटिसिएन राखिएको छ । हाल देशभरमा निजीमा ५० जना डाइटिसियनले काम गरिरहेका छन् भने बाँकी विज्ञता बाहिरको काममा सहभागी रहेको संघले जनाएको छ ।
कला देखाउँदै कलेजका विद्यार्थी ।