धरानः सरकारले सापटी लिएर भए पनि कर तिर्न उर्दी जारी गरेको भन्दै धरानमा मौन जुलुस निकालेको छ ।
स्वतःस्फूर्तरूपमा निस्केका व्यवसायीले प्लेकार्डसहित भानुचोकमा शनिबार मौन जुलुस निकालेका हुन् । व्यवसायीले कर तिर्न सापटी रकम कहाँ पाइन्छ, व्यवसायीलाई राहत हुँदैन हो सरकार ? नागरिक सुरक्षा खोइ ? समाज रोगले भन्दा भोकमरीले आजित छ जस्ता लेखिएका नाराहरूसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनबारे धरानका व्यावसायी दिनेश बान्तवाले राज्यले सापट लिएर भए पनि कर तिर्नु भनेर उर्दी जाहेर गरेपछि सापटी लिने ठाउँ कहाँ छ ? भनेर देखाउन सरकारलाई माग गरेको बताए । व्यापारीलाई घरभाडा तिर्न आवश्यक भएको कर्मचारीलाई तलब दिन आवश्यक परेको भन्दै त्यस विषयमा सरकारको ध्यान नगएको उनले बताए ।
अर्का कपडा ब्यावसायी सहारा कुलुङले सरकारलाई दबाव सिर्जना गर्ने उद्देश्यले मौन जुलुस आयोजना गरेको बताए । आफ्नो व्यवसायको लागि घर भाडा लिएको भन्दै घर मालिकलाई घरभाडा छुट मागेको बताए । ‘कतिपय घरधनी त्यही घरभाडामा भर परेर जीविकोपार्जन गर्ने गरेका छन् तर सम्पन्न घरधनीले यस विषय सोच्न सक्नुपर्छ ।’ उनले भने । घरधनीले पनि बैक किस्ता तिर्नुपर्ने भएकोले त्यस विषयमा सरकारले बुझ्न आवश्यक रहेको उनले बताए ।
लकडाउनले ठूला–साना सबै ब्यवसायीलाई प्रत्यक्ष मारमा परेको छ । लकडाउन केही खुकुलो भएपनि ग्राहक नआउने गरेको व्यवसायीको गुनासो छ ।




