Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

९८ वर्षमा सम्मान पाउँदाको त्यो खुशी !

हाम्रो कोशी आवाज
असार ७ २०७७, आइतबार
९८ वर्षमा सम्मान पाउँदाको त्यो खुशी !

धरानः आइतबार भव्य कार्यक्रम नै थियो–७५ वर्षमाथिका दलित ज्येष्ठ नागरिकलाई सम्मान । त्यो पनि ५७ जना ज्येष्ठ नागरिक सहभागी । उनीहरूलाई पालैपालो सम्मान ।
धरान उपमहानगरपालिका दलित विकास समितिले समुदायका जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरेपछि अधिकांशले खुशीले सीमा नगरेको बताए । सम्मानित भएपछि कार्यक्रममा उपस्थित अधिकांशले अझ धेरै बाँच्ने आशा र उर्जा मिलेको धारणा राखे ।
कार्यक्रममा सहभागी धरान–८ की ९८ वर्षीया अम्विका विश्वकर्माले आफूले जीवनमा कुनैपनि सम्मान नथापेको तर जीवन अस्ताउने बेलामा आफूलाई सम्मान गरेको देख्दा अझ धेरै बाँच्ने आशा पलाएको बताइन् । त्यस्तै, धरान–१७ की ९२ वर्षकी वसन्ती बर्देवाले बुढेसकालमा अति आवश्यक वस्तु लौरो उपहार र छाता पाउँदा खुशीको सीमा नरहेको बताइन् । उनले भनिन्, ‘मलाई मेरो छोराले केहिको अभाव पारेको छैन, मलाई राम्ररी माया दिएर पालेको छ तर लौरो र छातासहित सम्मान पाउँदा सबै मेरा छोराछोरी जस्तो लाग्यो । बाँचुञ्जेल पुग्नेभो, धन्यवाद ।’
धरान–१५ का खड्गबहादुर लम्जेल अहिले ९६ वर्षका भए । उनले बुढेसकालमा लौरो र छाता सहारा भएको बताए । त्यसमा फ्रेमसहितको सम्मान पत्र पाउँदा आफू दङ्ग परेको बताए । उनले समितिबाट यस्तै राम्रा राम्रा काम गर्दै जाओस भनि आशिर्वाद समेत दिए । कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले आफ्ना समस्या, गुनासा र अनुभव आदानप्रदान गर्न दलित समुदायका जेष्ठ नागरिकहरूको कुनै औपचारिक फोरमको मागसमेत गरेका छन् ।
धरान–८ सिर्जना मार्गस्थित परियार सेवा समाजको सभाहलमा ७५ वर्षमाथिका दलित नागरिकलाई सम्मान गरिएको समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिएका छन् । एक नम्बर प्रदेशकी सांसद् उमिता विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रममा सम्पन्न भएको हो ।
बुढेसकालमा अझ धेरै सम्मानका साथ बाँच्नुपर्छ भनी मनोबल बढाउन र जेष्ठ नागरिकहरूको सम्मान गरी आत्मबल वृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सदस्य सचिव लामगादेले बताए । उनले भने, ‘आफ्ना बाबुआमाको आज्ञा पालन गरी आदर गरौं । बुढेसकालमा उहाँहरूलाई अझ बढी परिवार, समाज र राष्ट्रको सहारा आवश्यकता हुने भएकोले ज्येष्ठ नागरिकहरूको सम्मान गरौं ।’
कार्यक्रममा प्रमुख अतिथि सांसद उमिता विश्वकर्माले दलित समुदायको औषत आयु ६० वर्ष मात्रै भएको हुनाले ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्नु समाजमा असल शिक्षाको अभ्यास भएको बताइन् । उनले प्रदेश सरकारले दलित समुदायका लागि ठोस नीति तथा कार्यक्रम तय गरेर समुदायको उत्थान र विकासमा अघि बढ्ने प्रयास भइरहेको भन्दै धरान उपमहानगरपालिकामा स्थानीय सरकारको तर्फबाट दलित विकास समितिले खेलेको भूमिका सह्रानीय रहेको बताइन् ।
धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा दलित विकास समितिका संयोजक किशोर परियारले ७५ वर्षदेखि ९८ वर्षसम्मका वृद्धवृद्धालाई सम्मान गर्न पाउँदा ज्यादै खुशी लागेको बताए । स्थानीय सरकारले समिति गठन गरेर आफूहरूलाई जिम्मेवारी दिएपछि समुदायको हकहित, उत्थान र विकासका लागि निरन्तर काम गर्दै आएको बताए ।
आर्थिक वर्ष ०७६।७७ मा दलित विकास समितिले धरान उपमहानगरपालिकाबाट विभिन्न १६ वटा कार्यक्रम सञ्चालन गरेको थियो । लकडाउनका कारण कुक तालिम, अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउन पाएन । ज्येष्ठ नागरिक सम्मानको कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको र वृद्धाहरुको मनोबल उच्च बनाउन समेत आवश्यक भएकोले कार्यक्रम गरिएको कार्यक्रम संयोजक समेत रहेको सदस्य सचिव तारा लामगादेले जानकारी दिए ।
कार्यक्रममा दलित समुदायका अगुवाहरू प्रतापप्रकाश ल्वागुन, दिलबहादुर रामदाम, रमेश गजमेर, लालबहादुर सिन्च्युरी, गंगा कालिकोटे, लक्ष्मण दास, सुमन गहतराज, सावित्रा परियार, नरमाया परियार, मणिराज सुनाम, सुनिता सेन्च्यूरी, रेणुका विश्वकर्मा, बलिन्द्र बराइली, दिनेश गजमेर, अनिता रसाइली, खिलानाथ कोइराला, बिनोद रसाइली, हर्कराज चर्मकार, नर्वदा दास लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम दलित विकास समितिका सदस्य सकुन्तला तिखत्री भुषालले सञ्चालन गरेकी थिइन् भने रामकुमार दास, खगेन्द्र नेपाली, डिल्लीराम शिवा, रामधारी बासफोर, लक्ष्मी लकान्द्री, चन्द्रमाया विश्वकर्मा र लिला शंकरले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: असार ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend