धरानः धरानमा एसियाली विकास बैंक (एडिबी) खानेपानी परियोजनामा भएको खर्चको यथार्थ विवरण सार्वजनिक गर्नुपर्नेलगायत विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाइएको छ ।
धरान उपमहानगरपालिकाअगाडि नाराबाजीपछि मेयर तिलक राईलाई भेटी दीर्घकालीन खानेपानी संयुक्त संघर्ष समितिको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउनुअघि केहीबेर नाराबाजी समेत भएको थियो । संयोजक हर्क साम्पाङको नेतृत्वमा पुगेको टोलीले खानेपानीको हिसाब माग गरेको ज्ञापनपत्र बुझाएको हो ।
धरानमा आयोजनाबाट जोडिएको धारामा हावा बढी पानी कम आउने, कतिपय ठाउँमा पानी आउँदै नआउने, पानी नआएपनि बिल दुवैतर्फबाट आउने तर हिसाब किताब भने अहिलेसम्म नदिइनु दुःखद भएको संयोजक साम्पाङको भनाइ छ । ‘संस्थान र एडिबी दुवै तर्फबाट पानी बिल आइरहन्छ’, उनले भने, ‘पानी पर्याप्त छैन ।’ उनले एडिबी परियोजनाको हिसाब माग गरिएको तर अहिलेसम्म नपाएको गुनासो गरे ।
यसअघि धरान उपमहानगरपालिकाले खानेपानी वितरण सिस्टम बोर्ड मातहतमा हस्तान्तरण प्रक्रियामा रहेकोले धरान नगरबासीहरुलाई संस्थानलाई महसुल नबुझाउन पनि आहवान गरेको थियो ।
एसिशियाली विकास बैंकले ऋण अनुदान दिएपछि धरान उपमहानगरपालिकाले धेरै वर्षअगाडि चारकोसे जंगलबाट डीप बोरिङ गरी खानेपानी आयोजनाको काम सुरु गरेको थियो । लामो समयदेखि पानीको समस्या भोग्दै आएको धरानमा एडिबीको पानी आउने भएपछि धरानवासीमा पानीको समस्या समाधान हुने आशा पलाएको थियो तर स्थानीय राजनीतिक दल र सरोकारवाला निकायबीच विवाद उत्पन्न भएपछि आशा निराशामा बदलिँदै गएको छ ।
स्थानीयले धरान खानेपानी आयोजना निर्माणमा भएको आर्थिक अनियमितताको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै आउनुका साथै एडिबी परियोजना माथि प्रश्न उठाइरहेका छन् । पानी खुवाउँछौं भनेर बाचा गरेका दलहरू अहिले एकआपासमा दोषारोपण गर्दै पन्छिन थालिसकेका छन् । फोटोः ललित राई

