Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको घण्टाघर खुल्ला तर छिर्दैनन्

हाम्रो कोशी आवाज
असार १२ २०७७, शुक्रबार
धरानको घण्टाघर खुल्ला तर छिर्दैनन्

धरानः धरानको घण्टाघर खुलेको छ । कोरोनाका कारणले २०७६ चैत ८ गतेदेखि अर्को सूचना नआएसम्मका लागि भनी बन्द भएको घण्टाघर असार १ गतेदेखि खुलेको हो ।
०६२ पुस २० गतेदेखि सञ्चालनमा आएको घण्टाघर कहिल्यै बन्द भएको थिएन । सरकारले सुरक्षा अपनाउनका लागि सार्वजनिकस्थलमा भेला हुने ठाउँहरूमा बन्देज लगाएको थियो ।
घण्टाघर व्यवस्थापन समितिका राज सुब्बाले असार १ गतेदेखि घण्टाघर खुलेको बताए । तर अहिले घण्टाघर भित्र रहेको पार्कमा हावा खाने भन्दै छिर्ने एक दुईबाहेक अन्य पर्यटक भित्रिएका भने छैनन् । ‘एक दुई जना यहाँ छेऊमा रहेको क्यान्टिनमा चिया खाने, पार्कमा बनाइएको फलैंचामा गफ लडाउने बाहेक घण्टाघर चढेर नियाल्ने भने आइपुगेका छैनन्’, उनले भने ।
धरानको भानुचोकमा अवस्थित घण्टाघर धरानको पहिचान मात्र होइन, प्रमुख पर्यटकीय आकर्षण पनि हो । धरान घुम्न आउने जो कोही पर्यटकहरु यहाँ प्रवेश नगरी वा घण्टाघरको माथिल्लो तलाबाट धरानलाई अवलोकन नगरी फर्कदैनन् ।
धरानको सौन्दर्य बढाएको यही घण्टाघर पछिल्लो समय युवायुवतीहरूको डेटिङस्थल बन्दै गएको थियो । यो घण्टाघर ब्रिटिस गोर्खा सेनामा भर्ती भएका युवा (लाहुरे) ले बनाएका पश्चिमा शैलीका घर र सडकका कारण धरान आकर्षणको केन्द्र बन्दै आएको छ ।
‘भीडभाडको वातावरण नगरौं, घण्टाघर आएर कोही रमाइलो मान्ने पनि हुन्छन, खोलौं भनेर व्यवस्थापन पक्ष लागिसकेपछि खोलेका हौं तर खासै पर्यटक आउँदैनन, स्थानीय नै मन बहलाउन आउने गरेका छन’ सुपरभाइजर केशव न्यौपानेले भने ।
अहिले धरानमा पसलहरू खुल्ला भएपनि अहिले भानुचोक सुनसानझैं छ । भानुचोक पुग्ने जोकोहीले हरेक घन्टामा घण्टाघरको घडीले समय जनाउन दिने आवाज गुन्जिरहेको मात्रै सुनिन्छ ।
सुपरभाइजर केशव न्यौपानेका अनुसार यसअघि घण्टाघरमा दैनिक करिब तीन सयजनाले यहाँबाट धरान नियाल्ने गर्दथे । यहाँ ५५ फिटको उचाइसम्मबाट एकसाथ करिब ५० जनाले धरानको दृश्य नियाल्न सकिन्छ । अहिले घण्टाघर क्षेत्रलाई निगरानीमा राख्ने, सुरक्षित बनाउने र नराम्रो कामहरू रोक्ने उद्देश्यले सिसी क्यामेरा जडित छ ।

प्रकाशित मिति: असार १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend