Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लकडाउनको समयको घरभाडा छुट दिने बढ्दै

हाम्रो कोशी आवाज
असार २२ २०७७, सोमबार
धरानमा लकडाउनको समयको घरभाडा छुट दिने बढ्दै

धरानः धरानमा लकडाउनको समयमा घरभाडामा छुट दिने बढ्दै गएका छन् ।
गत चैत्र १० गतेदेखि कोरोना (कोभिड (१९) को कारणबाट अधिकांश व्यवसायी थला परिरहेको समयमा घरभाडा तिर्न नै नसक्ने अवस्थाका पनि छन् । अहिले घरधनीले घरभाडा छुट दिन थालेपछि सुनसरी उद्योग वाणिज्य संघ धरानले सम्मान गर्ने संस्कारको थालनी गरेको छ ।
लकडाउनका कारण उद्योग व्यवसायीलाई पीरमर्का परेको महसुस गरी घरभाडा छुट गर्ने ४१ घरधनीहरूलाई सम्मान गरिएको छ । लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिनसम्म घरभाडा छुट दिने करिब ४१ जनालाई सम्मान गरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले बताए ।
सम्मानित हुनेमध्ये उपमहानगरपालिकाका मेयर तिलक राईकी पत्नी रिना राईदेखि अन्य व्यवसायी समेत छन् । राईको घरमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूलाई छुट दिएका थिए । यस्तै, उपमहानगरपालिकाले भाडामा लगाएको कोठाहरूमा व्यवसाय सञ्चालन गरेको स्थानमा भाडा छुट दिएको छ ।
त्यसैगरी सम्मानित हुनेमध्येबाट सुनसरी उद्योग वाणिज्य संघका सल्लाहकार प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, भूतपूर्व अध्यक्ष पवनकुमार अग्रवाल, कार्यसमितिक सदस्य अनिल ताम्राकार, धरान सरोकार समाज काठमाण्डौंका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका मन्त्री मुकुल कायस्थ, मेन्याङ्बो कल्याणकारी संघ, समाजसेवी पिङ्गला न्यौपाने लगायत छन् ।
सम्मान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई आफैं उपस्थित थिए । कार्यक्रममा उपप्रमुख मञ्जु भण्डारी (सुवेदी) विशेष अतिथि थिइन् ।
कार्यक्रममा मेयर तिलक राईले कुनै पनि निकायले घरभाडा छुटका लागि दबाव दिनुभन्दा स्वघोषित रुपमा यसरी घरधनी र भाडावाला दुवैपक्षको सहमतिमा दिइएको छुटले बादविवाद नहुने बताए । मेयर राईले घरधनीले घरबहाल कर पनि स्वघोषित रुपमा घोषणा गरी आफ्नो आयलाई वैधानिक बनाउन अनुरोध गरे ।
संघका द्वितीय अध्यक्ष अनिल अग्रवालको संयोजक रहेको सो कार्यक्रममा घरधनीका तर्फबाट प्रभुप्रसाद श्रेष्ठले घरधनीले घरबहाल छुट दिएझैं उपनगरपालिकाले पनि करमा छुट दिनुपर्ने बताएका थिए ।
सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष गिरिधारी सापकोटाले लकडाउनको कारण पर्यटन, उद्योग, यातायात व्यवसायी र स्थानीय व्यवसायीहरु मारमा परेको र मनकारी घरधनीहरुले गरेको यो कार्यप्रति सम्पूर्ण व्यवसायीको तर्फबाट आभार प्रकट गरेका थिए ।

प्रकाशित मिति: असार २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend