Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बाढी-कटानको वितण्डा

हाम्रो कोशी आवाज
असार २९ २०७७, सोमबार
धरानमा बाढी-कटानको वितण्डा

धरानः लगातारको अविरल वर्षाले धरानमा पहिरो र कटानले २६ सुकुम्बासी वस्तीमा क्षति गरेको छ ।
तीन दिनदेखिको लगातारको वर्षाले धरानको सर्दु तथा सेउती खोलामा आएको बाढीले सुकुम्बासीका २६ वटा बस्तीमा क्षति गरेको हो । सुकुम्बासी बस्तीका १८ घरमा क्षति पुरयाएपनि १० घर भने पूर्णरूपमा क्षति भएको नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय संयोजक कुमार कार्कीले बताए ।
यस्तै, लगातारको वर्षाकै कारण धरान–३ र १५ को बीचमा रहेको विनोद मगरको भान्सा घर पहिरोमा पुरिएको छ । अघिल्लो वर्ष पनि सोही ठाउमा पहिरोले क्षति पुरयाएपछि दीर्घकालीन समस्या समाधानका लागि धरान उपमहानगर पालिकालाई जानकारी गराएको पीडित मगरले बताए ।
यसैगरी सर्दु खोलामा आएको बाढीले धरान–१६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति पार्कको वाल भत्काएको छ । सर्दुमा आएको बाढीले धरान–१६ को नौलो वस्तीमा निर्माणाधीन पार्कको जग्गा संरक्षण गर्न निर्माण गरिएको वालको ४ वटा सेट भत्काएको धरान १६ का वडाअध्यक्ष दिलकुमार गिरीले बताए ।
वर्षाले लगातार वितण्डा मच्चाउँदै गएका कारण सबैभन्दा बढी सुकुम्बासी रहेको समाजका संयोजक कार्कीले बताए । उनले यस विषयमा पटक पटक स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको बताए । उनले अझै निरन्तर यस्तै वर्षा भइराखे धरानमा रहेका ६४ बस्ती सुकुम्बासीका १ हजार घर जोखिममा पर्ने बताए । ‘तत्काल केही गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘यसका लागि सरकारले बेलैमा ध्यान दिनुपर्छ ।’
बेघरबार बनेका परिवारलाई राहत
बाढीले किनार कटान गर्दा धरान वडा ५ सुन्दर बस्तीमा ३ घर बगाउँदा बेघरबार बनेका परिवारलाई रेडक्रस सोसाइटी सुनसरीले राहत सामाग्री प्रदान गरेको छ । सेउतीमा आएको बाढीले स्थानीय जीतबहादुर लिम्बू, तिलक बस्नेत, चन्द्र जोगीको घर बगाएको थियो । उनीहरूलाई रेडक्रसले बाल्टिन, तन्ना, त्रिपाल कम्बल लगायतका आपतकालीन राहत दिएको हो । पीडितमध्ये बस्नेत र जोगी वस्तीमै खाली रहेको अर्काको घरमा आश्रय लिएर बसेका छन् ।
नेता खोलाखोला कुद्दै
धरानमा नेकपाका नेता तथा कांग्रेसका नेता खोला खोला कुदेका पनि छन् । नेकपाका नेता भीम आचार्य, मुक्सामहाङ मेन्याङ्बो, अवइन्द्रविक्रम बेघा, चोत्लुङ, नेपाली कांग्रेसका नेता किशोर राई, सुजेन्द्र तामाङलगायतका नेता सर्दु र सेउती खोलाले कटान गरेको स्थलमा पुगेका छन् । उनीहरू धरान–११, १७ र १५ का खोलाखोला पुगेका हुन् ।
उनीहरूले तत्काल राहत, कटान नियन्त्रणमा स्थानीय सरकारले पहल गर्नुपर्नेमा जोड दिएका थिए । कतिपय स्थानीय नेताले त धरान–१६ स्थित सर्दु खोलामा किनारमा पुगेर कटान रोक्न तारजाली लगाउने काम पनि गरेका थिए । ‘तत्कालका लागि केही गर्नुपर्ने देखियो’, नेता बेघाले भने, ‘त्यसका लागि स्थानीय सरकारको पहलकदमी देखिन्छ ।’
फोटोः लक्ष्मण थापा र सामाजिक सञ्जाल

प्रकाशित मिति: असार २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend