धरानः महिलाहरूका हातभरि चुरा अनि मेहन्दीका थरीथरी बुट्टा देख्दा रोमाञ्चित हुन्छन् । तर यसपटक कोरोना कहरका कारण बजार पुग्दा खासै क्रेज देखिएन । अघिल्लो वर्ष साउन लागेपछि धरानको मुख्य रोडमा भीडभाड बढ्ने गरेको र व्यापार पनि ह्वात्तै बढ्ने गरेपनि यसपटक त्यस्तो देखिएन ।
‘अघिल्लो वर्ष हातभरि डम्म हरिया चुरा लगाएर छिनछिन आवाज निकाल्ने महिला तथा युवायुवतीको रहर यसपटक रहर रहरमै सीमित बनेको छ’, व्यवसायी असरत अली भन्छन्, ‘यसपटक ग्राहक नै आएका छैनन् भन्दा पनि हुन्छ ।’ उनले यसपटक चुरा व्यापार खस्किएको बताए ।
पछिल्लो समय साउनमा महिलाले हरियो चुरा तथा मेहन्दी लगाउने चलन फेसनजस्तै थियो । युवा, प्रौढ तथा सेलीब्रिटी सबै खालका नारी यो परम्परामा बाँधिइरहन चाहन्थे । विशेषगरी युवापुस्तामा मेहन्दी र हरियो चुराको आकर्षण ह्वात्तै बढ्ने गरेको थियो । ‘दिनमा एक हजार पनि व्यापार छैन’, धरान घण्टाघर पछाडि मेहन्दी लगाउन बसेकी चाँदनी खातुनले भनिन्, ‘यसपटक कोरोनाको त्रासका कारण पनि अघिल्लो वर्षको झैं क्रेज नै छैन ।’ उनले अधिकांश धराने महिलाले मेहन्दी किनेर घरमै लगेर लगेको पनि बताइन् ।
मेहन्दी र चुरा सबैले लगाउँछन्, कतिले त्यसको अर्थ बुझेर लगाउँछन् त कतिले नबुझीकनै दल्छन् । धरान मेहन्दी लगाउँदै गरेकी धरानकी सजना लिम्बु भन्छिन्, ‘पहिलादेखि चलिआएको, साउन महिनामै सबैले लगाउँदै आएको र खाली हात नराखौं भनेर मेहन्दी लगाएकी हुँ ।’
उनको आफनै तर्क छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै मेहन्दी र चुरा लगाउने गरेको उनले बताइन् ।
साउन महिनामा विवाहित महिलाहरू श्रीमानको दीर्घायुको कामना गरी ब्रत बस्ने गर्दछन् भने अविवाहितहरू असल श्रीमानको कामनासहित ब्रत बस्ने अनुभवी महिलाहरु बताउँछन् । साउन महिनामा वर्षातका कारण चारैतिर हरियाली मौसम हुन्छ, रूखबिरुवाको पालुवा पूर्ण हरियो बनिसकेको हुन्छ । बैशाखदेखि नै सुरु हुने बाली लगाउने काम पनि साउन महिनामा पूरा हुन्छ । साउने मौसमको यही गुणलाई हरिया चुरा, मेहन्दी अनि महिलाको ब्रत बस्ने संस्कारसँग जोडेर व्याख्या गरिन्छ । धार्मिक रूपमा साउन र हरियो रंगको सम्बन्ध जोडिएको कुनै पनि प्रसङ्ग धर्मशास्त्रले व्याख्या गरेको छैन । तर, हिन्दू महिलाले भने यी हरिया श्रृङ्गारलाई धर्मसँग जोडेर बुझ्ने गरेका छन् । साउन महिनामा पूजा गर्दा शिव चाँडो खुसी हुने धार्मिक मान्यता छ ।
ज्योतिषशास्त्रले भन्छ– हरियो रङ्ग बुध ग्रहबाट प्रभावित हुन्छ । बुध ग्रहलाई नपुंसक ग्रह मानिन्छ । बुधबाट प्रभावित हुने हरियो रङ्गले साउनमा बढ्दो कामवासनालाई रोक्ने सामथ्र्य राख्दो रहेछ ।
फोटोः हाम्रो कोशी आवाज डटकम


















