धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत् सप्तरी घर भएका ७३ वर्षीय पुरुषको बिहीबार राति १० बजे मृत्यु भएको हो ।
उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । उनेको घर राजविराज–६ हो । गत असार ३१ गते राजविराजबाट उपचारका लागि ल्याइएका उनको पिसिआर परीक्षण हुँदा कोरोना देखिएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले जानकारी दिए ।
‘उहाँको पहिला नै गम्भीर प्रकृतिको रोग थियो, जस्तैः मुटुको रोग, उच्च रक्तचाप, मधुमेह थियो, पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई इमरजेन्सीमा राख्यौं, त्यसपछि आइसोलेसन सिफ्ट गरयौं अनि भेन्टिलेसनमा राख्यौं तर बिहीबार राति १० बजे उहाँको निधन भयो ।’ प्रा.डा. सापकोटाले भने । उनले आइसोलेसनमा रहेका अन्य बिरामीको अवस्था सामान्य रहेको बताए । ‘अन्य बिरामीको अवस्था सामान्य छ, उहाँलाई हामीले भेन्टिलेसनमा पनि राखेर उपचार गरेका हौं ।’ उनले भने ।
अहिले शव व्यवस्थापनको तयारी थालिएको उनले जानकारी दिए । मृतक प्रदेश २ को भएपनि प्रदेश १ मा उपचारको क्रममा मृत्यु भएको पहिलो व्यक्ति हुन् । उनी भारतको विभिन्न व्यापारिक सहरमा व्यापारकोलागि आउजाउ गर्ने गरेका थिए ।