धरानः लकडाउनका कारण लांघाली सामुदायिक वनको भवनमा राखिएका सडक मानवहरूलाई साउन १ गतेदेखि मायाघरले रेखदेख गर्ने भएको छ ।
कोरोनाको संक्रमण फैलने सँगसँगै सामुदायिक वनमा राखिएकोे र यसको दीर्घकालीन व्यवस्थापनको लागि संघ संस्थामध्ये उपमहानगरपालिकासँगको सहकार्य तथा बैठकबाट माया घर नेपाललाई व्यवस्थापनको लागि ८३ जना मानवहरूलाई साउन १ देखि लागु हुने गरि सम्झौता भएको आइतबार सोही भवनमा पत्रकार सम्मेलन गर्दै माया घर नेपालले जानकारी दिएको छ ।
थप व्यवस्थापनको कार्यमा स्थानीय निकायबाट विगतमा गरेको सहकार्यमा निरन्तरता दिनको लागि र धरान उपमहानगरपालिकालाई चाँडै नै सडक मानवरहित नगर निर्माण कार्यमा सहकार्यको लागि पत्रकार सम्मेलनमार्फत् माया घरकी अध्यक्ष राधिका दासीले अनुरोध गरिन् ।
सहयोगी मन र दाताहरूबाट नै प्रमुखरूपमा चलेको माया घरको स्थायी आम्दानी र कुनै प्रोजेक्ट नभएकोमा धरान निवासी दानदाता ,संघ संस्था तथा स्थानिय राजनैतिक दल, सामाजिक संस्थाहरूलाई सहयोग तथा सहकार्यको लागि संस्थाकी सचिव शुभद्रा प्याकुरेलले आग्रह गरिन् । यसअघि लांघाली सामुदायिक वन र सडक मानव व्यवस्थापनले संरक्षण गर्दै १५३ जना सडक मानवहरूलाई व्यवस्थापन गर्दै आएको थियो ।
हाल जुनियर माया घर, लियो क्लब अफ इटहरी मनकामना, लियो क्लब अफ धरान बुढासुब्बा, महिला संञ्जाल धरान लगायतको संघसंस्थाले सहयोग गरिरहेकोे छ ।
माया घर नेपालले खाना, खाजा, औैैैैषधि, उपचार जस्ता कार्य गर्दै आएको सचिव प्याकुरेलले बताइन् । यस्तै, संस्थाले योगा, सबै आश्रितहरूको व्यक्तिगत विवरण तयार गर्ने, पुर्नस्थापना गर्न सकिनेलाई स्थायी पुनस्थापना गर्ने, मेलमिलाप गराउने, ज्येष्ठ, अपाङ३ग, महिला, बालबालिकाहरूलाई उचित व्यवस्थापन गर्नेे, दीर्घ बिरामी, अति अशक्तहरूलाई उपचार गर्ने, लत्ताकपडा तथा क्षमताको आधारमा सीपमुलक तालिम सञ्चालन गर्ने गर्दै आएको छ ।