Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सार्वजनिक बसलाई ट्राफिकद्वारा ‘टाइट’

हाम्रो कोशी आवाज
साउन १० २०७७, शनिबार
धरानमा सार्वजनिक बसलाई ट्राफिकद्वारा ‘टाइट’

धरानः धरानबाट सबै सार्वजनिक बस चल्न थालेका छन् । बस चल्न थालेपछि अधिकांशले मास्क नलगाउने, सेनिटाइजर नलगाउने, सामाजिक दुरी कायम नगर्नेलगायतका गतिविधि बढेपछि जिल्ला प्रहरी कार्यालय सुनसरी धरानले ‘टाइट’ गर्न थालेपछि अहिले यात्रु, बसका कर्मचारी सबैले नियम पालना गर्न थालेका छन् ।
भानुचोकमा पुग्दा अधिकांशले नियमको पालना गरेको पाइएको छ । ‘मास्क लगाउनु राम्रो हो, मास्क नलगाएर के गर्नु, यहीँ चेकिङ हुन थालिसकेको छ’, चालक चक्रबहादुर जिमीले भने, ‘यो त हामी सबैको सुरक्षाका लागि नै हो नि ।’ उनी अहिले नियमित यात्रु पनि आइरहेको बताउँदै भन्छन्, ‘सरकारले भनेजस्तै गरेर एउटा गाडीमा १६ जनाभन्दा बढी चढाएका छैनौं ।’ उनले बस चढ्नुअघि यात्रुलाई मास्क अनिवार्य लगाउन भन्दै आएको बताए ।
यसअघि हाम्रो कोशी आवाज डटकममा यात्रु सबैजनाले मास्क लगाउने तर सवारी साधनका कर्मचारी कतिपयले मास्क समेत नलगाइदिँदा दुःख लागेको यात्रुले बताएकोबारे समाचार प्रकाशित भएको थियो । बस चढ्दा जोखिम बढ्न सक्ने भएकाले यात्रु, सवारीका कर्मचारीलाई अनिवार्य मास्क, पन्जा र स्यानिटाइजरको प्रयोग गर्न भनिएको छ । तर पालना भने हुन सकिरहेको थिएन ।
त्यसो त अहिले भानुचोकमा पनि प्रहरीले सम्झाउने गरेको छ । भानुचोकमा वडाका प्रहरी, ट्राफिक प्रहरी बसेर सम्झाइबुझाइ गर्ने गरेको छ । अहिले भानुचोक, भोटेपुल, तीनकुनेलगायतका स्थानमा पनि ट्राफिक प्रहरी बसेर नियम पालना गरेनगरेको हेर्ने, यात्रु, चालक, कर्मचारीलाई सम्झाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख रञ्जन कोइराला बताउँछन् । उनले २–४ दिन सम्झाउने र त्यसपछि नमाने कारवाही प्रक्रिया अगाडि बढाइने बताए । ‘२–४ दिनसम्म सबैलाई सम्झाउँछौं, अटेर गरे कारवाही प्रक्रिया अगाडि बढाएर छाड्छौं ।’ उनले भने ।
‘पढायो पढायो पाठ, सोह्र दुना आठ’ भन्ने उखान यतिबेला सबैतिर मिलेको छ । ‘भानुचोकमै पनि लखरलखर हिड्ने बढेका छन् तर मास्क लगाउनुपर्छ भन्ने समेत हेक्का छैन’, भानुचोकमा खटिएका एक प्रहरी भन्छन्, ‘जान्ने बुझ्ने, पढेलेखेकैले यस्तो गरिदिँदा अचम्म लाग्छ ।’
ट्राफिकका हवल्दार दीपराज अधिकारी सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न भनिरहेको छ, तर कानमा तेल हालेर नसुनेको झैं गर्ने प्रवृत्ति सर्वसाधारण र गाडीवाला, कर्मचारीमा पनि देखिन आएको छ ।
कोरोनाको संक्रमण केही कम हुन थालेपछि गएको असार २६ गते सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरयो । गत हप्ताको बुधबारदेखि लकडाउन हटेपछि भने सडकमा सार्वजनिक गाडीको संख्या बढेको छ । सरकारले सिट संख्याको आधा मात्रै यात्रु राख्न तथा स्वास्थ्यसम्बन्धी अरु मापदण्ड पालना गरेर मात्र गाडी चलाउन भनेको छ । तर केहीबाहेक धेरै गाडीवालाले यसअघि बेवास्ता गर्दै आएका थिए । ‘गाडीवालले आफूले सक्दो नियमको पालना गर्दै सर्वसाधारणलाई टाइट गर्ने हो भने पनि सबै नियम पालना गर्न राजी हुन्छन्’, हवल्दार दीपराज भन्छन्, ‘विशेषतः यसो गर्न नै भनिरहेका छौं ।’
प्रमुख कोइरालाले सरकारले तोकेको भन्दा बढी भाडा लिने र सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही गरिरहेको बताए । ‘सबै ठाउँमा ट्राफिक प्रहरीको भूमिका मात्रै खोजेर मात्रै हुँदैन । यो सम्भव पनि छैन । यात्रु आफैं सचेत भएर बढी भाडा लिने र सुरक्षा मापदण्ड पालना नगर्ने गाडीबारे उजुरी दिनेगरे झनै राम्रो ।’
सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । तर लकडाउन सकिए पनि कोरोना भाइरसको जोखिम नसकिएको भन्दै विज्ञले सावधानी अपनाउन आग्रह गरिरहेका छन् । भारतसँगको नेपालको सीमा जति नै सुरक्षित छ भनिए पनि मानिसहरु आउने जाने क्रम पूर्णरुपमा रोकिन सकेको छैन । जबसम्म भारतमा जोखिम रहिरहन्छ तबसम्म नेपालमा पनि कोरोना भाइरसको संक्रमण नरोकिने भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ । त्यस्तै लकडाउन खुल्दैमा कोरोनाको जोखिम सकिएको भ्रममा नपर्न विज्ञले आग्रह गरेका छन् ।
फोटोः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend