धरानः धरानमा फाट्टफुट्ट बोलबम देखिएका छन् । मन्दिरमा सप्तकोशी नदीमा पुगेर फर्किएका बोलबमसमेत भेटिएका छन् । पहेंलो बस्त्रधारी बोलबम पनि यसपटक भेटिएका हुन् । कतिपय मठमन्दिर बन्द छ भन्ने थाहा पाउँदा पाउँदै पनि आएका छन् भने कतिपयले थाहा नपाएको बताएका छन् । मन्दिरको ढोका नखुलेपछि बाहिरैबाट चियाउँछन्, ढोग्छन् र फर्किन्छन् ।
झापाको केर्खादेखि आइपुगेका सुधिर मण्डल सप्तकोशीमा पनि पुगेर जल चढाउन यहाँ आइपुगेको बताए । उनले बन्द छ भन्ने जानकारी नभएको र पिण्डेश्वर मन्दिरमै आइपुगेर थाहा भएको बताए ।
यस्तै, झापा बिर्तामोडबाट आइपुगेका दीपक पोखरेल मठमन्दिर बन्द भएको जानकारी भएपनि बाहिरबाट ढोग गर्न पाइन्छ भनेर आइपुगेको बताए । ‘ढोग गर्न पाइन्छ भन्ने आशा थिएन, पोखरीमा जल चढाउन पाइन्छ भन्ने आशाले आइपुगेका हौं’, उनले भने, बराहक्षेत्र, कोशी किनार पनि पुगेर जल चढाउन ल्याएका छौं ।’
पिण्डेश्वर खुल्ला त छैन तर साउनको दोस्रो सामबार केही तिर्थालुहरू पिण्डेश्वर परिसरमा बाहिरैबाट दर्शन तथा पूजाका लागि पुगेका छन् ।
मूल मन्दिर खुला नभएपनि बाहिर रहेको ढोकाबाट पूजा गर्दै, ढोग गर्दै फर्किएको मूल पुजारी विनोद पोखरेलले बताए । ‘सामान्य अवस्थामा पनि साउने सोमबार झण्डै एक हजार दर्शनार्थी आउने गर्छन् ।’ उनले थपे, ‘यो वर्ष कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा मठ–मन्दिर पनि बन्द छन् ।’
यो वर्षको पहिलो साउने सोमबार औंसी पनि परेकाले थप विशेष महत्व छ । सोही कारण केही दर्शनार्थी सोमबार बिहान पिण्डेश्वर परिसर पुगेका हुन् ।
मन्दिरको मुख्य प्रवेशद्वारमा कोरोना संक्रमणबारेको सुचना फ्लेक्समा नै टाँगिएको छ । बोलबम मेला नलगाउने भनेर ढिलो गरी पिण्डेश्वर बाबाधाम समिति, धरान उपमहानगरपालिकालगायतको बैठकले निर्णय गरेको थियो । धरान उपमहानगरपालिका, पिण्डेश्वर बाबा धाम समिति, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयका पदाधिकारीको बैठकले ढिलो जानकारी गराएको स्थानीयबासीले बताएका छन् । हुन त मठ–मन्दिर बन्द हुने निर्णय पहिलाकै सरकारी निर्णय भएपनि सर्वसाधारणले पनि हेलचेक्रयाइँ गरेको स्थानीयबासी बताउँछन् । स्थानीयस्तरमा माइकिङ समेत गरेर पिण्डेश्वर बन्द हुने जानकारी गराइएको थियो । अहिले स्थानीय भक्तजन त्यहाँ पुग्दैनन् । मन्दिर बन्द रहेपनि मन्दिर अगाडिका पसल भने केही खुल्ला छन् । फूलपाती बेच्ने, खाजाका पसल भने खुल्ला छन् ।
फोटोः हाम्रो कोशी आवाज

















