धरानः धरानको पुरानो बजारमा रहेको तरकारी बजारमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले ५९ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।
विद्युत सर्ट भएर आगो लाग्दा कस्मेटिक्स, तरकारी पसललगायत जलेको थियो । आगलागीमा परी सविता खनाल बेघाको ८ लाख, ओसिन श्रेष्ठको ७ लाख, रमा चौहान खतिवडाको ९ लाख, अनिता आचार्जुको ७ लाख, निरा निरौलाको २ लाख, इन्दिरा श्रेष्ठको ४ लाख रुपैयाँ, कल्पना तामाङको १० लाख, ज्ञानकुमार श्रेष्ठको ७ लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक आएको उनले जानकारी दिए । ‘यो प्रारम्भिक विवरण मात्रै हो’, उनले भने, ‘अझै यकिन गर्न लागिरहेका छौं ।’
उता सब्जी तथा फलफुल ब्यवसाय समितिका अध्यक्ष राजेन्द्र दर्नालले करिब ५९ लाख बराबरको क्षति भएको जनाए । ‘११ वटा पसल जल्दा ५९ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ, १ बजे बैठकपछि विस्तृत कुरा आउँछ ।’ उनले पीडितसँग क्षतिको निवेदन दिन माग गरिएको बताए ।
फोटोः हाम्रो कोशी आवाज











