धरानः कोरोनाको सन्त्राससँगै धरानमा मास्क वितरण गरिएको छ ।
सुनसरी उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धरान घोपाले बिहीबार धरान बजारमा निःशुल्क मास्क वितरण गरेको छ । संघको कार्यालयदेखि धरानको भानुचौकसम्म उद्योगी, व्यापारी, बाटो हिँड्ने बटुवा र सवारी चालक, यात्रुहरुलाई मास्क वितरण गरिएका थियो ।
कोरोनाको महामारीबाट बच्नका लागि मास्क वितरण गरिएको रोटरी क्लब अफ घोपाका अध्यक्ष राजेश अग्रवालले बताए । सुनसरी उवासंघका कार्यसमिति सदस्य विष्णु बरालका अनुसार सचेतनाका लागि मास्क सँगसँगै व्यापारीहरु र यात्रुहरुलाई पम्प्लेट समेत वितरण गरिएको थियो ।
व्यापारी र धरानवासीहरुलाई कोरोनाबाट बच्नको लागि यो कार्यक्रम सँगसँगै धरान नगरभरी माइकिङ्ग समेत गरिएको संघका अध्यक्ष गिरिधारी सापकोटाले बताएका छन् । कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेत, सशस्त्र प्रहरी गुल्मका डिएसपी सुमन पोखरेल, सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पवन अग्रवाल लगायत करिब ४५ जनाको सहभागिता रहेको थियो ।
