Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जे सिकायो, कोरोनाले सिकायो !

हाम्रो कोशी आवाज
साउन १८ २०७७, आइतबार
जे सिकायो, कोरोनाले सिकायो !

धरानः अहिले धरानमा विद्यार्थी अनलाइन कक्षा लिइरहेका छन् । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाउँदै आएका छन् ।
धरानका निजी तथा सरकारी विद्यालयले अनलाइन कक्षालाई अगाडि बढाएका हुन् । धरानकै मात्र कुरा गर्ने हो भने पनि अहिले शिक्षक, विद्यार्थी अनि अभिभावक नै पनि प्रविधिमा अगाडि बढ्दै गएको पाइएको छ । कोरोनाका कारण शैक्षिक क्षेत्र ठप्प रहँदा अनलाइन कक्षा लिने बढेका हुन् । अनलाइन कक्षाका कारण अहिले विद्यार्थी, अभिभावक र शिक्षक नै प्रविधिमा अगाडि बढ्दै गएका हुन् ।
अहिले धरानमा अनलाइन कक्षा चलाएर शैक्षिक प्रयासलाई व्यवस्थित गर्ने प्रयास भइरहेका छन् । कतिपयले अनलाइन दूरशिक्षा अनुपयोगी, देखावटी, प्रभावहीन र निरर्थक भनिरहँदा जति विद्यार्थीले अनलाइन कक्षा लिए मज्जासँग लिइरहेको सरकारी विपालय पब्लिक हाइस्कुलका प्राचार्य इन्द्रमोहन झा बताउँछन् । ‘विद्यालयमा नियमित अनलाइन कक्षा भइरहेको छ, जतिले लिएर सबैले सन्तुष्ट मानेका छन् ।’ उनले भने ।
यस्तै, धरानकै निजी विद्यालय विष्णु मेमोरियल माविका निमावि कोअर्डिनेटर विकास गिरीका अनुसार हालसम्म विद्यार्थीले राम्रै सहभागिता जनाएको बताउँछन् । ‘अहिलेसम्म राम्रै सहभागिता छ, जतिले कक्षा लिए उनीहरूको होमवर्कलगायतका सबै कार्य पूर्णरूपमा भएका छन् ।’ उनले अनलाइन कक्षा विद्यार्थी, अभिभावक र शिक्षकका लागि चुनौती बनेपनि हाल भएर सहज बनेको बताए ।
‘अहिले कोरोनाको रोकथाम तथा नियन्त्रणको प्रयोजनमा विद्यालय खोलेर प्रत्यक्ष कक्षा चलाउनमा बाधा लम्बिन सक्ने सम्भावना ठूलै छ । यस पक्षलाई ख्याल गर्दा विशेषगरी, विद्यालयको माथिल्लो तह र उच्च शिक्षाका कार्यक्रममा अनलाइन दूरशिक्षा अवलम्बन नगरी नहुने अवस्था छ’, प्रधानाध्यापक झा भन्छन्, ‘यसले पनि विद्यार्थी, अभिभावक, शिक्षकलाई प्रविधिमा अघि बढौं भनिरहेको छ, त्यहीअनुसार बढेको पनि पाएका छौं ।’
उनले यसअघि शिक्षक कम्प्युटर, ल्यापटप आदिमा कमजोरी रहेको स्वीकारे । ‘हाम्रा शिक्षकहरू मोबाइल चलाउँछन् । इमेल इन्टरनेट प्रयोग गरेर फेसबुक युट्यूब आदि प्रयोग गर्छन् । दुर्भाग्यवश हाम्रा यी विद्युतीय साधन र माध्यमलाई हामी शिक्षाका उपयोगी माध्यम र साधन कसरी बनाउन सक्छौँ भन्नेमा हामीले ध्यान दिँदै आएनौं ।’, उनले थतपे, ‘विडम्बना पनि थियो, शिक्षक, अभिभावक र विद्यार्थी दुवै फेसबुक युट्यूब त जान्दछन् तर दूरशिक्षाका डिजिटल अनुप्रयोगबारे अनविज्ञ नै थिए । अहिले लकडाउनपछिको अवस्थामा धेरै शिक्षकहरू निपुर्ण भइसक्नुभएको छ ।’

अहिले कक्षामा पढाएजस्तै पाटीमा लेखेको देखाउँदै वा तयार पारेको सामग्री शक्तिविन्दू प्रस्तुति (पावरपोइन्ट प्रिजेन्टेसन) जस्ता श्रव्यदृश्य साधनबाट शिक्षकहरूले पढाउनुपर्दा अर्थात स्मार्ट मोबाइल फोन वा कम्प्युटरबाट शिक्षकहरू एक आपसमा श्रव्यदृश्यमा जोडिँदा उनीहरूले धेरैकुरा सिकेको सुनाखरी एकेडेमीका पिञ्न्सिपल मिलनकुमार राई बताउँछन ।
‘जुम र गुगल क्लासरूमजस्ता अनुप्रयोग (एप्लिकेसन) बाट दोहोर श्रव्यदृश्यमा भर्चुअल कक्षा चलाउन, कम्प्युटर सिक्न, ल्यापटप चलाउन अहिले धेरै शिक्षक निकै निपुर्ण हुनुभएको छ’, उनले खुलाए, ‘यसले विद्यार्थी, शिक्षक र अभिभावकलाई नै फाइदा पुगेको जस्तो लाग्छ ।’
प्रदेश १ मै शिक्षकलाई प्रविधि तालिम
प्रदेश नं १ सरकारले पनि शिक्षक प्रविधिमा सबल बन्दै गएको बताउँदै आएको छ । मन्त्रालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा प्रदेशका ६०० शिक्षकलाई सूचना प्रविधिसम्बन्धी अनलाइन शिक्षक तालिम सञ्चालन गरेको छ । केही महिनाअघि सन्चालन गरेको तालिममा सुनसरीका मात्रै १०० जना भन्दा बढी सरकारी विद्यालयका शिक्षकले तालिम लिएको प्रधानाध्यापक झाले बताए ।
पब्लिकमा मात्रै १७ जनाले किने ल्यापटप
प्रधानाध्यापक झाका अनुसार पब्लिक हाइस्कुलमा मात्रै प्रविधिसँग अगाडि बढ्नुपर्ने भएकोले १७ जनाले इच्छा देखाएर ल्यापटप किनिसकेको जानकारी दिए । ‘सुरुमा ल्यापटप किनेर पढाउन थाल्नुपर्छ भन्यौं, कम्तीमा ५ जनाले ल्यापटप खरिद गर्लान भन्ने सोचेका थियौं तर १७ जनाले लिइसक्नुभयो ।’ उनले ल्यापटप खरिदका लागि पछि तलबमा कटौती गर्ने गरेर रकम दिएको पनि बताए । ‘मासिक थोरै कटौती गर्ने गरी ल्यापटप खरिदका लागि रकम दिएका थियौं अहिले १७ जनाले ल्यापटप सिकेर धेरै कुरामा पोख्त भइसक्नुभएको छ ।’

प्रकाशित मिति: साउन १८ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend