धरानः धरान–१५ स्थित दशरथपथमा तीन संक्रमित भेटिएपछि सिल गरिएको ठाउँ । एकैपरिवारका तीन जनामा कोरोना पुष्टि भएलगत्तै सिल गरिएको अहिले सो ठाउँमा यातायातलगायतलाई रोक लगाइएको छ । अन्यमा संक्रमण फैलिन नदिन सो संक्रमित क्षेत्रलाई तुरून्त सिल गरिएको हो ।
धरान उपमहानगरपालिकामा कार्यरत् उपमेयरको सहयोगीको रुपमा समेत काम गर्दै आएकी दशरथपथमा डेरा गरी बस्ने एक महिला कर्मचारीसँगै उनको १० वर्षीय छोरा र ७१ वर्षकी सासु आमालाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । अहिले सो ठाउँ सुनसानप्रायः छ । सो ठाउँ वरिपरी रहेका पसलमा ताला लागेका छन् भने सर्वसाधारण समेत आवतजावत छैन । सो ठाउँ प्रवेश गर्ने ठाउँमा बाँस राख्दै ब्यानरमा लेखिएको छ- ‘कोरोना संक्रमित क्षेत्र ।’
‘कोरोना संक्रमित क्षेत्र’ भएपनि त्यहाँ स्थानीयले भने आक्कलझुक्कल ब्यानरको निषेधाज्ञा समेत तोडिएको देखियो । धरानमा अहिले ५५ जना संक्रमित पुगिसकेका छन् । जहाँ संक्रमित देखिएपनि संक्रमित क्षेत्र भनेर सिल गरिएका नै छन् । तर पनि केही सर्वसाधारणले अटेर गरी त्यस्ता क्षेत्रमा पनि छिर्ने गरेका छन् ।
फोटोः लक्ष्मण थापा

