धरानः घटना गत साउन २५ गते रातिको हो । धरान–४ गैरी गाउँकी एक बालिका ममता राई झुन्डिएको अवस्थामा फेला परिन् । स्थानीय १२ वर्षीया बालिकाले झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनले शव बाख्राको खोरमा झुन्डिएको अवस्थामा भेटिएको हो । सो घटनाले परिवारमा बज्रपात भयो नै । तर, त्यसदिनदेखि वरपरका आफन्त ममताको हत्या कि आत्महत्या ? लगायतका अनेकन् प्रश्नमा डुबेका छन् । सँगै उनीहरूको मनमा भय र आशकाले पनि घर बनाएको छ ।
ती बालिकाले कसरी आत्महत्या गर्न सक्छिन् ? आत्महत्या गर्न कसले प्रेरित गरयो ? या उनले आत्महत्या गर्न कसरी सिकिन् ? या कसैले उनलाई मारयो ? त्यसो हो भने उनलाई किन मारियो ? ममताको मृत्युले यस्ता कयौं प्रश्नहरु छाडेर गएको छ ।
योसँगै बुधबार धरानस्थित बाल सञ्जालको टोलीले चासो दिएको छ । बाल सञ्जालको टोलीले घटनास्थल पुगेर स्थानीयसँग राय लिने काम गरेको छ ।
‘खासमा यस्तो बालिकाले कसरी आत्महत्या गरिन् होला भनेर हामीले निकै छलफल गरयौं’, धरान उपमहानगरपालिका बाल सञ्जालकी उपाध्यक्ष सुजाता राईले भनिन्, ‘त्यही भएर घटनास्थलमा पुगेर सोधीखोजी गरेर फर्किएका छौं ।’
उपाध्यक्ष राईका अनुसार उनी खाना पकाउन भन्दै घरदेखि केही नजिक रहेको एकजना बाजेकोमा आउने गर्थिन् । ती बालिकाको दिदीकाअनुसार बालिका आत्महत्या गर्ने अवस्थाको थिइनन् । ‘बहिनीलाई कसैले आत्महत्या गर्न बाध्य पारयो कि कुटेरै पो हो कि ?’ उनले भन्दै गरेको उपाध्यक्ष राईले सुनाइन्, ‘त्यही भएर हामीले चासो दिएका हौं ।’ उपाध्यक्ष राईका अनुसार यसअघि ‘तँलाई कुटौं’ भन्दै टर्चर दिने, कुटपिट पनि गरिहाल्ने गरेको र एकजना महिलाले ‘मैले एक झापड मात्रै’ हानेको हो समेत भनेकी थिइन् ।’
सञ्जालकी सदस्य तथा १२ नं. वडा बाल सञ्जालकी अध्यक्ष विनिशा राईले यो केसलाई अघि बढाउने बताइन् । ‘आत्महत्या, हत्या वा अन्य केही हो भन्नेबारेमा हाम्रो चासो हो, त्यो बहिनीले न्याय पाउनुपर्छ, यसको निष्पक्ष छानविन हुनुपर्छ ।’ भोलि सञ्जालको बैठक राखेको र बैठकले थप निष्कर्ष निकाल्ने उनले बताइन् । सञ्जालका सचिव निश्चल खड्का, कोषाध्यक्ष विनोद रायमाझी, सदस्य उद्धव खतिवडा लगायतको टोली घटनास्थल पुगेको थियो ।
इलाका प्रहरी कार्यालय धरानलाई बाबुले दिएको जाहेरीमा ‘झुन्डिएर मृत्यु’ भनेर जाहेरी दिएका छन् । ‘घटना २५ गते रातिको हो, बाबुले दिएको जाहेरीमा झुन्डिएर आत्महत्या गरेको हो भन्ने छ’, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले भने । पोष्टमार्टमको रिपोर्ट आइनसकेकाले अहिले केही भन्ने अवस्था नरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ, घटनाबारे अनुसन्धान गर्दैछौं । अहिले यसै भन्ने अवस्था छैन ।’ उनले शवको व्यवस्थापन भइसकेको बताए ।

आफ्नै दिदीलाई विश्वास छैन आत्महत्या हो भन्नेमा
आफ्नै दिदीलाई समेत विश्वास विश्वास छैन बहिनीले आत्महत्या गरेको हो भन्नेमा । उनी भन्छिन्, ‘पोष्टमार्टम रिपोर्टले पनि केही थाहा पाउने भनिएको छ, के पोष्टमार्टम रिपोर्ट त सही आउँछ नि ?’
सञ्जालले ती बालिकाको खुट्टाले भुइँ छोएको देखेपछि अझै बढी चासो देखाएको विनिशा बताउँछिन् । ‘खुट्टाले नै भुइँ छोएको देखेपछि चासो दिएका हौं’, उनले भनिन्, ‘घटनास्थल पुगेर सोध्दा कसैले झुन्डिएर मरेको हो भन्दा रै’छन्, कसैले झुन्डिएको होइन, कुटेर मारेको हो भन्ने गरेको समेत पाइयो, दिदीले त मेरो बहिनी झुन्डिने खालको पनि होइन र झुन्डिन सक्ने अवस्थाको पनि नरहेको बताएकी छिन् ।’
उनले बालमैत्री घोषणा भएकै वडामा यस्तो घटना घट्नु दुःखद् भएको बताइन् । ‘एक त त्यति सानो उमेर उनले कसरी आत्महत्या गरिन् अथवा घरमा आत्महत्याका लागि उक्साउने इन्टरनेट र मोबाइल दुवैको पहुँच त्यति छैन’, उनले थपिन्, ‘४ नं. वडालाई बालमैत्री वडा घोषणा गरिएको छ, यस्तो ठाउँमा कुटपिट हुनु, काममा लगाइनु पनि हुँदैन थियो तर त्यही भइरहेको समेत पायौं ।’ उनले बालिकाको जिउभरी निलडाम समेत रहेको स्थानीयले बताएको र तस्वीरमा समेत सोही देखिएपछि शंका गर्नुपर्ने ठाउँ रहेको बताइन् ।
