धरानः धरानस्थित चारकोशे झाडीमा निगुँरो टिप्न गएकी एक महिलामाथि यौन दुव्र्यवहार भएको छ ।
५२ वर्षीया ती महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । बिहीबार बिहान ११ बजे धरान-१७ स्थित उदय सामुदायिक वन उपभोक्ता समूह छेउमा निगुँरो टिप्न पुगेकी उनलाई यौन दुव्र्यहार गरेको आरोपमा ३३ वर्षीय तेजकुमार धामीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
पीडित महिलाको उजुरीको आधारमा प्रहरीले ती युवालाई पक्राउ गरेको हो । महिलाकी छोरीको भनाइअनुसार आमा-छोरी जंगल गइरहेको बेला ती युवाले छोरी अलिक अगाडि गएपछि महिलामाथि दुव्र्यवहार गरेका हुन् । ‘आमा र म जंगल जाँदै थियौं, म अगाडि थिएँ, आमा अलिक पछाडि हुनुहुन्थ्यो, उसले आमालाई घारीमा लडाएर जबरजस्ती गर्दै रहेछ । आमा कराएपछि म फर्केर आउँदा भागिहाल्यो ।’ पीडित महिलाकी छोरीले भनिन् । सो क्रममा ती युवाले लगाएको गरगहना समेत लुटेको पीडित महिलाले बताइन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेनले युवा पक्राउ गरिएको पुष्टि गरे । ‘हो हामीले पक्राउ गरेर ल्याइसकेका छौं’, उनले भने ।