धरानः खानेपानी भ्रष्टाचार अभियन्ता हर्क साङपाङको रिहाइको माग गर्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईको घर अगाडि धर्ना दिएका छन् ।
धरानको खानेपानीको मुहानमा पाइप तोडफोड गरेको आरोपमा साङपाङ पक्राउ परेका थिए । उनका समर्थकले शुक्रबार र शनिबार दुई दिन धर्ना दिएका छन् । साङपाङमाथि साउन १८ गते खानेपानी संस्थानको मुहानमा पुगेर तोडफोड गरेको आरोप लागेको छ ।
आरोप लागेपछि नेकपा, नेपाली कांगेस र समाजवादीले कारवाहीका लागि प्रेस विज्ञप्तिसमेत निकालेका थिए । साङपाङलाई इलाका प्रहरी कार्यालय धरानले साउन २० गते पक्राउ गरेर पाइप तोडफोड तथा अत्यावश्यक सेवा अवरुद्ध गरेको भन्दै मुद्दा चलाइसकेको छ । उता साम्पाङसँगै धरान खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठलाई पनि पक्राउ पुर्जी जारी गरिएको छ तर अहिलेसम्म प्रहरीले उनलाई भेट्टाएको छैन । साङपाङले भने तोडफोड नगरेको दावी गर्दै आएका छन् ।
