धरानः अहिले कोरोनादेखि मानिसलाई भय र त्रास त छँदैछ, त्यही पनि कोरोना संक्रमित भइसकेपछि अझै डराउँछन् । त्यस्तै, कोरोना संक्रमित भइसकेपछि अहिले पनि समाजसँग डराउँछन् कोरोना संक्रमित । भनौं संक्रमित झनै डराउनुपर्ने अवस्था छ । किनभने निको भइसकेपछि वा संक्रमित भइसकेपछि संक्रमितलाई हेलाको भावनाले हेर्ने क्रमको विकास भइरहेको छ ।
कतिपय ठाउँमा अझै संक्रमित र घर फिरेकालाई समेत हेला गर्ने, होच्याउने आदि गरिरहेको समाचार पनि बाहिरिरहेका छन् । तर धरानमै जहाँ कोरोना संक्रमित भएपछि केही व्यक्ति ‘हाइहाइ’ बने । यो सकारात्मक कुरा हो ।
केहीहप्ताअघि पलिखे परिवारको एकै परिवारका पाँचजनामा कोरोना संक्रमण भयो । त्यो पनि ८७ वर्षीय, ८० वर्षीय अनि ७ वर्षीय नाति समेत । धरानको चन्द्रपुर बजारका जो सोमबार कोरोना जितेर फर्किएपछि टोलबासी मिलेर भव्य स्वागत गरे । स्थानीय अनिल मास्केका अनुसार १२ दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेर कोरोना जितेर फर्किएपछि उनीहरूको टोलबासी नै मिलेर भव्य स्वागत भएको हो । ‘सबै टोलबासी मिलेर सामाजिक दुरी कायम गर्दै भव्य स्वागत गरियो ।’ उनले भने । उनले माला, खदा लगाउँदै स्वागत गरिएको बताए ।
उनका अनुसार ५ जनामध्ये छोराबुहारीचाहिँ अहिले बीपीमै उपचाररत छन् । ‘एकै परिवारका पाँचजनामध्ये दुईजना अहिले पनि अस्पतालमै हुनुहुन्छ, जतिजना कोरोना जितेर फर्किनुभयो, उहाँहरूको लागि स्वागत कार्यक्रम आयोजना गरिएको हो ।’ उनले भने । उनले अहिले कोरोना संक्रमितलाई हेलाको भावनाले हेर्ने गरिएको र मनोबल उच्च बनाउन यस्तो स्वागत, सम्मानको कार्यक्रम आयोजना गरिएको बताए । ‘खासमा संक्रमितलाई हेला भयो भन्नेजस्ता आदि इत्यादि जताततै नराम्रो खबर मात्रै सुनिन्छ, त्यसैलाई चिर्न पनि यो कार्यक्रम जरुरी थियो, गरयौं ।’ उनले थपे ।
उनले कोरोना संक्रमित र निको भएर फर्किएकाहरूका लागि आत्मविश्वास बढाउनुपर्ने बताए । ‘कोरोना संक्रमण निको हुन र भइसकेपछि पनि आत्मविश्वास सबैभन्दा धेरै आवश्यक हुन्छ, तर घरपरिवार, छरछिमेकमा आत्मविश्वास घटाउने क्रियाकलाप हुनु निकै दुःखद् हो ।’ उनले भने ।
नेपाली समाजमा संक्रमणको समयमा सहयोगको साटो दुव्र्यवहार हुनुलाई व्यावहारिक ज्ञानको कमी भएको उनी बताउँछन् । यस्ता कार्यले कोरोना संक्रमण नियन्त्रण गर्न झन् चुनौती थपिँदै गएको उनको भनाइ छ । भन्छन्, ‘जतिसुकै सावधानी अपनाउँदा पनि संक्रमण हुँदैन भन्ने छैन । यसर्थ, संक्रमितलाई दुव्यवहार गर्नुको साटो उनीहरूको मनोबल उच्च पार्नु आवश्यक छ । समाजले कोरोना महामारीलाई स्वीकार गरेर एकअर्कालाई सहयोग गर्न सकेमा कोरोना नियन्त्रण गर्न सकिन्छ ।’ स्वागत कार्यक्रममा ८७ वर्षीय वृद्धले हिम्मत भए कोरोना जितिने बताएका थिए । ‘खासमा हामीलाई केही भएको छैन, कोरोना भनेको जित्न सकिने संक्रमण हो भनेर पोजेटिभ सोचेमात्रै पनि कोरोना जितिन्छ, त्यही भएर हिम्मत नहारौं ।’ ती ८७ वर्षीय वृद्धले भने ।
फोटोः अनिलको फेसबुकबाट ।
