धरानः धरानस्थित बीपी कोइराला कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै, प्रतिष्ठानमा १० पुरुष र ८ महिला भर्ना भएको उनले जानकारी दिए ।
सुनसरीका १३ र मोरङ साथै झापाका गरेर ५ जना संक्रमित डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनले प्रतिष्ठानबाट हालसम्म ३ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएको जानकारी दिए । हाल प्रतिष्ठानमा ८१ जना उपचाररत रहेको उनले जानकारी दिए । प्रतिष्ठानमा हालसम्म २५ हजार ४ सय १९ जनाको पिसिआर परीक्षण भइसकेको छ ।
धरानमा ८९ जनामध्ये ४५ जना कोरोना जितेर घर फर्किएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । हाल २३ जना होम आइसोलेसनमा रहेको उनले जानकारी दिए । ‘सरकारले नै लक्षण नदेखिएकालाई निर्देशिका जारी गर्दै होमआइसोलेसनमा पनि बस्न भनिएको छ’, उनले भने, ‘त्यही भएर धरानमा होम आइसोलेसनको अभ्यास पनि थालिएको हो ।’
घरमै पनि अलग्गै बसियो भने हुने बताउँदै उनले लक्षण देखिए तुरुन्त अस्पतालमा जान आगह पनि गरे । उनका अनुसार धरानमा हालसम्म बिनालक्षणकै संक्रमित बढी छन् । ‘हालसम्म धरानमा जतिजना संक्रमित थपिए, ११ जनाबाहेक सबै बिनालक्षणका हुनुहुन्छ’, उनले भने, ‘त्यही भएर अब होम आइसोलेसनमा राखिएको हो, लक्षण देखिन थाले तुरुन्त अस्पताल पुग्नुहोला ।’ उनले धरानका संक्रमितहरू सबैको अवस्था सामान्य रहेको पनि जानकारी दिए ।
‘लक्षणसहित संक्रमित भएकामा ज्वरो आउने, स्वास फेर्न गाह्रो हुनेसम्मको समस्या हुन्छ’, उनले भने, ‘हिजोआज थपिएका संक्रमितमा यस्तो कुनै समस्या छैन ।’ उनले लक्षण नभएकामा खोकी समेत नलागेको बताए ।