विराटनगरः भारतमा बसी नेपालका विभिन्न जिल्लाहरुमा सञ्जाल विस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइकेलाई जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट पक्राउ गरेको छ ।
हातहतियार खरखजना तथा लागूऔषध मुद्दामा फरार प्रतिवादीको सूचीमा रहेका भारतको अररिया जिल्ला इन्द्रनगर ग्रामपञ्चायत–१० का ३९ वर्षीय बग्गा भनिने प्रदीप यादवलाई शनिबार अपरान्ह पौने ५ बजे विराटनगर महानगरपालिका–१६ बाट लागुऔषध सहित पक्राउ गरिएको हो ।
यादवको साथबाट डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाइट्राभेट ५१ चक्की बरामद भएको छ । २०७५ साल मंसिर ०३ गते विराटनगरको हुलास चोकबाट अटोमेटिक पेस्तोलसहित पक्राउ परेका मन्दिप तामाङ र सुशिलकुमार साहलाई हतियार पठाउने तथा २०७५ मंसिर ८ गते ललितपुरका रुपम राईलाई दिन भनी पठाएको लागूऔषध ब्राउनसुगर, तथा पेस्तोल सहित पक्राउ परेका विद्यानन्द मण्डल र अनुप गिरीको घटनामा संग्लग्न रहेको खुल्न आएसँगै सर्वाधिक खोजीको सूचीमा रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्ने सफल भएको हो ।
पक्राउ परेका यादवको सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।